काठमाडौं।
बंगलादेशविरुद्ध घरेलु मैदानमा हुने एक मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा नपरेपछि फरवार्ड नवयुग श्रेष्ठले चलखेल भएको आशयको टिप्पणी गरेका छन् । नवयुगले बिहीबार राति सामाजिक संजाल फेसबुकबाट चलखेल भएको आशयको टिप्पणी गरेका हुन् ।
कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार घोषणा गरेको टोलीमा उनी अटाएका थिएनन् । ‘ रोग को लक्षण :- विदेशी हुदा भित्र, स्वदेशी हुदा बाहिर, रोगको नाम :-चहलखेल’ उनले फेसबुकमा लेखेका छन् ।
तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी हुँदा एसियन कप छनोटको दोस्रो चरणमा नवयुगले कप्तानी गरेका थिए । उनी टोलीमा किन अटेनन भन्ने प्रश्नमा हुमागाईले उनी योग्य र अनुभवी खेलाडी भएपनि केहि कुराको अभावका कारण टिममा छनोट हुन नसकेको उत्तर दिएका थिए ।
‘हाम्रो लागि सबै खेलाडी महत्वपूर्ण छन् । र, सबैजना राम्रो छन् । अहिलेसम्म यो स्तरमा खेलिसकेका छन् । नवयुग योग्य खेलाडी हुन् यसमा कुनै शंका छैन तरपनि हामीले केहि कुराको तलमाथि पायौं तसर्थ नवयुग टोलीमा छैनन्,’ उनले भनेका थिए ।
हुमागाईंले बताए आयुष र नवयुग टिममा नपर्नुको ठूलो कारण
घरेलु मैदानमा आयोजना हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार गरेको गरेको टोलीमा तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादपछि बाहिरिएका १० मध्य ९ जना खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
रोहित चन्दसहित विशाल राई, अनन्त तामाङ, सुजल श्रेष्ठ, विमल घर्ती मगर, अन्जन विष्ट, विशाल श्रेष्ठ , दिनेश राजबंशी, तेज तामाङले पुनरागमन गरेका छन् । सुमन लामा भने अष्ट्रेलिया गईसकेका छन् । अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउदै विरोध स्वरूप माल्दिभ्समै बसेका तत्कालिन कप्तान किरण चेम्जोङ पनि टोलीमा फर्किएका छन् ।
कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईले उनीहरुलाई टिममा राख्न आफुलाई कुनै किसिमको दबाब नआएको समेत प्रष्ट पारे । ‘मलाई बिगतमा खेलाडी र प्रशिक्षक विवादको कुनै घटनाक्रम थाहा छैन । यहाँसम्म कि मलाई को को खेलाडी थिए भन्ने पनि जानकारी छैन । हामीले अहिले छनोट गरेको टोली आश्यकता बमोजिमको टोली रहेको छ,’ पत्रकार सम्मेलनमा उनले भने ।
लामो समयदेखि अलमुताईरी कार्यकालमा टिम बाहिर रहँदै आएका रंजित धिमालले पनि पुनरागमन गरेका छन् । दुई नयाँ अनुहार ऋतिक खड्का र आशिष चौधरीले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । प्रशिक्षक हुमागाईले पत्रकार सम्मेलनमा भने, ‘नयाँ खेलाडीहरुले तल्लो डिभिजनदेखि नै राम्रो प्रदर्शन दिदै आएका छन् मलाई लाग्छ उनीहरु राष्ट्रिय टिमको लागि योग्य छन् । यतिमात्र होइन बन्द प्रशिक्षणमा पनि उनीहरुले हाम्रो विश्वास जिते । सिनियर लगायत अरु राम्रा खेलाडीसँग प्रतिष्पर्धा गर्दै उनीहरु टिममा छनोट भएका हुन् । आशा छ उनीहरुबाट राम्रो प्रदर्शन आउनेछ ।’
थ्री स्टार क्लबका मिडफिल्डर ऋतिक खड्का र बी डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडका फरवार्ड आशिष चौधरीले राष्ट्रिय टोलीबाट बंगलादेशविरुद्ध डेब्यु गर्ने सम्भावना उच्च छ । यसअघि एएफसी छनोटको दोस्रो चरणमा नेपालको कप्तानी गरेका फरवार्ड नवयुग श्रेष्ठ भने टोलीबाट बाहिरिएका छन् । उनी टोलीमा किन अटेनन भन्ने प्रश्नमा हुमागाईले उनी योग्य र अनुभवी खेलाडी भएपनि केहि कुराको अभावका कारण टिममा छनोट हुन नसकेको उत्तर दिए ।
‘हाम्रो लागि सबै खेलाडी महत्वपूर्ण छन् । र, सबैजना राम्रो छन् । अहिलेसम्म यो स्तरमा खेलिसकेका छन् । नवयुग योग्य खेलाडी हुन् यसमा कुनै शंका छैन तरपनि हामीले केहि कुराको तलमाथि पायौं तसर्थ नवयुग टोलीमा छैनन्,’ उनले भने । हुमागाईले सुनिल बलले चोट बोकेका कारण उनलाई छाड्नु परेको बताए । यू-२० का कप्तान आयुष घलानको बिषयमा भने एन्फाले नै निर्णय गर्ने उनको स्पष्टोक्ति थियो ।
‘उनी अहिले यू-२० टोलीमा छन् । एउटा प्रशिक्षकको रुपमा आयुषको व्यबहारले मलाई पक्कै निराश बनाएको छ तर उनको बारेमा मैले कुनै धारणा बनाउन मिल्दैन । एन्फाले नै आफ्नो हिसाबले काम गर्ला । तर मेरो मान्यता खेलाडीले अनुशासन कायम राख्नु पर्छ,’ उनले भने । आयुष बहराइनमा सम्पन्न एएफसी यू-२० छनोटमा बंगलादेशका खेलाडीलाई दुर्व्यबहार गरेका कारण रातो कार्ड खाँदै बाहिरिएका थिए ।