काठमाडौं।
नेपाली फुटबल टिमका गोलकिपर किरण चेम्जोङ लिम्बु भारतीय क्लबमा आवद्ध भएका छन्। राउन्डग्लास पञ्जाब एफसीले लिम्बुलाई आईलिगका लागि अनुबन्ध गरेको छ। शुक्रबार पञ्जाब एफसीले किरणलाई आफ्नो टिममा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत् पुष्टि गरेको हो।
‘राउन्डग्लास पञ्जाब एफसीमा किरण चेम्जोङलाई फेरि स्वागत छ, अनुभवी गोलकिपरले आफ्नो उत्कृष्ट प्रदर्शनका लागि २०२०–२१ हिरो आई–लिग सिजनमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए। उनी राउन्डग्लास पञ्जाब एफसीमा पुनरागमन गर्दैछन्।’ पञ्जाब एफसीले लेखेको छ।
किरण पञ्जाब आवद्ध भएको यो पहिलो पटक भने होइन। यसअघि उनले २०१८ र २०२० को सिजनमा पञ्जाबबाट खेलिसकेका छन्। २०२०–२०२१ सिजनमा पञ्जाबले लिगको चौथो स्थान हासिल गर्न सफल भएको थियो।
लिगको उपाधि भने गोकुलम केरला एफसीले जितेको थियो। १५ खेलबाट २९ अंक बटुलेको गोकुलमले समान अंक रहेको चर्चिल ब्रदर्सलाई गोल अन्तरमा उछिन्दै उपाधि जितेको थियो।
आई लिगमा पहिलो हुने गोकुलमले १ करोड भारतीय रुपैयाँ प्राप्त गऱ्यो। दोस्रो हुने चर्चिल ब्रदर्सले ६०, तेस्रो हुने टीआरएयू एफसीले ४० र चौथो स्थान हासिल गरेको पञ्जाबले २५ लाख प्राप्त गरेको थियो।
उत्कृष्ट गोलरक्षक बनेका किरणले २ लाख ५० हजार भारतीय रुपैयाँ प्राप्त गरेका थिए। यो सिजनमा पञ्जाबले १८ गोल गरेको थियो भने १५ गोल खाएको थियो। पञ्जाबले लिगमा ६ खेलमा जित, ४ मा बराबरी र ५ मा हार बेहोरेको थियो।
नेपालका यी थप दुई फुटबलर पनि अष्ट्रेलिया पलायन
नेपालका थप दुई फुटबलर सुरक्षित भविश्यको खोजीमा विदेशिएका छन्। रुमेश बर्तौला र अमिर श्रेष्ठ विदेशिएका हुन्। मिडफिल्डर रुमेश र अमिर सुरक्षित भविश्यको लागि बिहीबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
नेपालमा फुटबल गतिविधि अनिश्चित बनिरहेको बेला दुई खेलाडी विदेशिएका हुन्। गत वर्षको ए डिभिजन लिगमा रुमेशले च्यासल युथ क्लब र अमिरले जावलाखेल युथ क्लबबाट खेलेका थिए।
पछिल्लो समय नेपालका फुटबलरहरू अष्ट्रेलिया पलायनको लर्को लागेको छ। यसअघि राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, सन्तोष तामाङ, सुमन लामा र आशिष लामा अष्ट्रेलिया पुगिसकेका छन्।