काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टिमले बंगलादेशसँग सरिज खेल्ने सम्भावना छ। नेपालले बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्न प्रस्ताव गरेको छ। नेपालले घरेलु मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज खेल्न बंगलादेशसँग प्रस्ताव गरेको हो।
दशैंलगत्तै बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्ने तयारी नेपाल क्रिकेट संघ (क्यान) ले अगाडि बढाइसकेको छ। नेपाल टी–२० लिग स्थगित भएसँगै केही समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले बंगलादेशसँग तीन एकदिवसिय अभ्यास म्याचका लागि प्रस्ताव गरेको बताइएको छ।
क्यान स्रोतका अनुसार बंगलादेशसँग सिरिज खेल्न कुरा भइरहेको भएपनि पक्कचाहिँ भएको छैन। नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले खाली छ। असोज ८ देखि कार्तिक ५ सम्म आयोजना हुने नेपाल टी–२० लिग स्थगित भएपछि क्रिकेट टिम खाली अवस्थामा रहेको हो। सुरक्षा कारण देखाउँदै नेपाल टी–२० लिग आगमी डिसेम्बरसम्मलाई स्थगित गरिएको छ।
बंगलादेश टेस्ट राष्ट्र हो। टेस्ट राष्ट्रको ‘ए’ बलियो नै हुने गर्छ। नेपालले यसअघि गत वैशाखमा जिम्बाब्वे ‘ए’ टिमसँग तीन टी–२० र तीन म्याचकाृ एकदिवसिय सिरिज खेलेको थियो। तीन एकदिवसिय अभ्यास खेलको सिरिज नेपालले २–१ ले जितेको थियो। टी–२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो। दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो।