अष्ट्रेलियाविरुद्ध भारतको शानदार जित, रोमाञ्चक बन्यो सिरिज

काठमाडौं।

घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी-ट्वान्टी खेल जितेको छ । नागपुरमा शुक्रबार राति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।

यस जितसँगै ३ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा भारतले १-१ को बराबरी गरेको छ । पाहुना टोलीले दिएको ९१ रनको लक्ष्य भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

भारतका लागि कप्तान रोहित शर्माले २० बलमा अविजित ४६ रन बनाए । विराट कोहलीले ११ तथा केएल राहुलले १० रन बनाए । दिनेश कार्तिकले अविजित १० रन बनाए ।

भ्रमणकारी टोलीका लागि एडम जाम्पाले ३ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो । वर्षाका कारण खेल ८ ओभरमा घटाईएको थियो ।

अष्ट्रेलियाका लागि म्याथ्यु वेडले २० बलमा अविजित ४३ रन बनाए । कप्तान आरोन फिन्चले १५ बलमा ३१ रन तथा स्टेभन स्मिथले ८ रन बनाए ।

भारतका लागि अक्षर पटेलले २ तथा जसप्रित बुमराहले १ विकेट लिए । दुई टोलीबीचको तेस्रो तथा अन्तिम टी-ट्वान्टी आइतबार हुनेछ ।

यस्तै, पाहुना टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा जित हात पारेको छ । कराँचीमा शुक्रबार राति भ्रमणकारी टोलीले पाकिस्तानलाई ६३ रनले पराजित गरेको हो।

यस जितसँगै इंग्ल्यान्डले घरेलु टोलीविरुद्धको ७ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । इंग्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो ।

पाकिस्तानका लागि शान मसुदले अविजित ६६ रनको अर्धशतकीय ईनिङ खेले । खुसदिल शाहले २९ तथा मोहम्मद नवाजले १९ रन बनाए ।

पाहुना टोलीका लागि मार्क उडले ३ तथा आदिल रसिद २ विकेट लिए । साम करन र रिच टोप्लेले समान १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । भ्रमणकारी टोलीका लागि बेन डुकेट र ह्यारी ब्रुक्सले अर्धशतकीय ईनिङ खेले ।

डुकेटले ४२ बलमा ७० रन तथा ब्रुक्सले ३५ बलमा ८१ रन बनाए । दुबै खेलाडी अविजित रहेका थिए । विल ज्याक्सले २२ बलमा ४० रन तथा डेभिड मलानले १४ रन बनाए ।

घरेलु टोलीका लागि उस्मान कादिरले २ तथा मोहम्मद हुसाईनले १ विकेट लिए । दुई टोलीबीचको चौथो टी-ट्वान्टी आइतबार हुनेछ ।

Leave A Reply

Your email address will not be published.