काठमाडौं।
विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले होन्डुरसमाथि ३-० जित निकालेको छ। अर्जेन्टिनालाई जिताउन मेसीले दुई गोल गर्दा अर्को एक गोल लोउटारो मार्टिनेजले गरेका हुन्।
यो जितसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा ३४ खेलसम्म पुर्याएको छ। अर्जेन्टिना पछिल्लो पटक २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अपराजित रहँदै आएको छ।
मियामीस्थित हार्ड रक स्टेडियममा खेलको १६औँ मिनेटमा मार्टिनेजको गोल गर्दै टोलीलाई सुरूआती अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्ज्युरी समयमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ६९औँ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे।
त्यसपछि खेलमा कुनै गोल भएन र खेल अर्जेन्टिनाले ३-० ले जित्यो। अब अर्जेन्टिनाले अन्तिम मैत्रीपूर्ण खेल जमैकासँग बुधबार बिहान रेड बुल एरेना, न्यु जर्सीमा खेल्नेछ।
दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिना कतार विश्वकपको समूह सी मा छ। जहाँ उसले समूहचरणमा पोल्यान्ड, मेक्सिको र साउदी अरेबियाविरूद्ध प्रतिस्पर्धा गर्नेछ।
यसैबीच, विश्वकपअघिको मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित निकालेको छ। ब्राजिलले अफ्रिकी राष्ट्र घानालाई ३–० को गोल अन्तरमा हराएको हो।
शुक्रबार राति भएको खेलमा ब्राजिलको जितमा रिचार्लीसनले २ तथा मार्किन्हसले १ गोल गरे। ब्राजिलले पहिलो हाफको ३९ मिनेटभित्रै ३–० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको घानाले ब्राजिललाई रोके पनि गोल गर्न नसक्दा हार व्यहोर्नुपर्यो।
खेलको सुरुवातदेखि नै बल पोसेसन राख्दै खेलमा पकड बनाएको ब्राजिलले नवौं मिनेटमा मार्किन्हसको गोलबाट सुरूआती अग्रता लियो।
खेलको २८औं मिनेटमा नेइमारको पासमा रिचार्लीसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे। ३९औं मिनेटमा नेयमारकै पासमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३–० ले अघि बढाए ।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले दोस्रो हाफमा लय समात्न सकेन। यो जितसँगै ब्राजिल पछिल्लो १४ खेलमा अपराजित रहेको छ। पछिल्लो पटक कोपा अमेरिका कपमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो।
अब ब्राजिलले कतार विश्वकप २०२२ अघिको अन्तिम मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग बुधबार प्रतिस्पर्धा गर्दैछ।
त्यसपछि पाँच पटकको विश्व विजेता ब्राजिलले कतार विश्वकपमा समूह चरणको खेलमा सर्बिया, स्विटजरल्याण्ड र क्यामरूनको सामना गर्नेछ।