काठमाडौं ।
नेपाल क्रिकेट संघ(क्यान) महिलाको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता गराउने तयारीमा जुटेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले महिलाको एकदिवसीय प्रतियोगिता आयोजनाका लागि अन्तिम तयारी भईरहेको बताए ।
अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) नेपाली महिला टोलीलाई आगामी वर्ष एकदिवसीय अन्तराष्ट्रिय मान्यता दिने संकेत बुझेपछि क्यान एकदिवसीय राष्ट्रिय प्रतियोगिता गर्ने तयारीमा रहेको हो ।
‘हामी निर्वाचित भएर आएपछि नै हामी महिला एकदिवसीय क्रिकेट गराउन तयारीमा थियौ,’ मल्लले भने ‘तर,विभिन्न कारणवंश त्यो हुन सकेको थिएन । आगामी वर्ष नेपाली महिला क्रिकेट टिमले एकदिवसीय मान्यता पाउने संकेत हामीले आईसीसीबाट पाएकाले हामी राष्ट्रिय एकदिवसीय क्रिकेटको अन्तिम तयारीमा रहेका छौँ ।’
आईसीसीले यस वर्ष नेदरल्याण्ड्स,थाईल्याण्ड,पपुवा न्युगिनी,स्कटल्याण्ड तथा अमेरिकालाई एकदिवसीय अन्तराष्ट्रियको मान्यता दिएको थियो। यस्तै, नेपाली क्रिकेट टिम र समर्थकका लागि ठूलो खुसीको खबर थपिँदै छ। नेपाल र बंगलादेश ‘ए’ बीच एकदिवसीय क्रिकेट सिरिज खेलाउने प्रस्ताव गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बंगलादेश क्रिकेट बोर्डलाई एकदिवसीय सिरिज खेल्नका लागि प्रस्ताव पठाएको हो। क्यानका कार्यवहाक सचिव प्रशान्त मल्लका अनुसार कीर्तिपुरस्थित त्रिवि मैदानमा एकदिवसीय सिरिज खेल्ने प्रस्ताव गरिएको बताए। तर सिरिज खेल्ने पक्का भने भइसकेको छैन।
नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले खाली छ। असोज ८ देखि कार्तिक ५ सम्म आयोजना हुने नेपाल टी–२० लिग स्थगित भएपछि क्रिकेट टिम खाली अवस्थामा रहेको हो। सुरक्षा कारण देखाउँदै नेपाल टी–२० लिग आगमी डिसेम्बरसम्मलाई स्थगित गरिएको छ।
जसका कारण क्यानले बंगलादेश ‘ए’ टिमसँग सिरिज खेलाउने प्रस्ताव गरिएको हो। क्यानले कात्तिक दोस्रो सातादेखि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता आयोजना गर्दैछ। त्यसअघि नै बंगलादेशसँग सिरिज गर्नका लागि क्यानले तयारी गरिरहेको छ।
बंगलादेश टेस्ट राष्ट्र हो। टेस्ट राष्ट्रको ‘ए’ बलियो नै हुने गर्छ। नेपालले यसअघि गत वैशाखमा जिम्बाब्वे ‘ए’ टिमसँग तीन टी–२० र तीन म्याचकाृ एकदिवसिय सिरिज खेलेको थियो। तीन एकदिवसिय अभ्यास खेलको सिरिज नेपालले २–१ ले जितेको थियो। टी–२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो। दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो।