बंगलादेशसँग खेल्नुअघि यस्तो भन्छन् विमल घर्तीमगर

काठमाडौं।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय म्याच खेल्दै छ। नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते हुनेछ। म्याच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

मैत्रीपूर्ण खेल फिफा डेअन्तर्गत हुनेछ। खेल नेपाली समयअनुसार साँझ ५ः३० बजेदेखि सुरु हुनेछ। बंगलादेशसँग मैत्रीपूर्ण म्याचका लागि नेपाली टिमसमेत घोषणा भइसकेको छ। नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्। बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईँले अन्तिम टोली घोषणा गरेका हुन्।

यसअघिका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन्। रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन्। चोटका कारण सुनिल बल टोलीमा परेका छैनन्। प्रशिक्षक हुमागाईँले कप्तान भने घोषणा गरेका छैनन्। खेलअघि कप्तान घोषणा हुने बताइएको छ।

बन्द प्रशिक्षणमा रहेका नवयुग श्रेष्ठ, सुनील बल, आयुष घलान, अभिषेक रिजाल, आभास लामिछाने, संजोग राई र रञ्जित धिमालले अन्तिम २३ मा स्थान बनाउन सकेनन्। चोटका कारण सुनील बल टोलीमा नपरेको बताइएको छ।

घरेलु टोली नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको टिकट मूल्यसमेत तय गरिसकिएको छ। एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको एन्फाले जनाएको छ।

एन्फाले मैत्रीपूर्ण खेलका लागि उपाध्यक्ष विराज जंग शाहीलाई संयोजक तोकिएको छ। मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख ६५ हजार रहेको एन्फाले जनाएको छ। नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली नेपाल आइसकेको छ। नेपालले गत जुनमा कुवेतमा एएफसी एसियन कप छनोट खेलेपछि नेपाली पुरुष फुटबल टिमले पहिलो पटक खेल्न लागेको हो।

मैत्रीपूर्ण खेल भएपनि बंगलादेश नेपालको बलियो प्रतिद्वन्द्वी हो। यतिबेला बंगलादेशको टिम बलियो देखिएको छ। नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ खेल भएकोमा नेपालले ७ र बंगलादेशले १३ खेल जितेका छन्। ३ खेल भने बराबरी भएको छ। नेपाल र बंगलादेशबीच पछिल्लो पटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको भेट १–१ को बराबरीमा सकिएको थियो।

बंगलादेशसँग खेल्नुअघि नेपाली टिमका फरवार्ड विमल घर्तीमगरले प्रतिक्रिया दिएका छन्। उनले मैत्रीपूर्ण खेल भएपनि बंगलादेश टोली भएको बताएका छन्। आइतबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै विमलले बंगलादेशले हालै कम्बोडियालाई हराएकाले उनीहरूको मनोबल उच्च नै हुने बताएका छन्।

‘मैत्रीपूर्ण खेलभन्दा पनि जुनकुनै विपक्षी आएपनि हाम्रो लागि टफ नै हुनेछ। हालै बंगलादेशले कम्बोडियालाई जितेर आएको छ। त्यसैले उनीहरूको मनोबल अलि उच्च छ जस्तो लग्छ,’ उनले भने,‘हाम्रो तयारी राम्रै भइरहेको छ। यस म्याचलाई हामीले भाइटल रूपमा लिइरहेका छौं।’

उनले नेपाली खेलाडीहरूले मैदानमा आएर जहिले पनि शतप्रतिशत नै दिएको बताएका छन्। यो खेललाई आफूहरूले नयाँ सिजनको सुरुवातका रूपमा लिएको विमलको भनाइ छ। ‘टिममा नयाँ भाइहरू पनि आएका छन्। उनीहरूले एक्सपोज राम्रोसँग पाएको छैन। जति पनि लिगहरूमा बेस्ट दिएका भाइहरू टिममा आएका छन्। यो प्रतियोगितालाई चाहिँ हामीले भाइटल रूपमा लिइरहेका छौं। र, नयाँ सिजनको सुरुवातका हुँदैछ।’

उनले सिनियर खेलाडीहरूलाई पनि टिममा पर्न तीव्र प्रतिस्पर्धा भइरहेको बताएका छन्। उनले बंगलादेशसँगको म्याचका लागि उत्साहित रहेको र घरेलु मैदानमा खेल जित्ने दाबीसमेत गरेका छन्। ‘यस म्याचलाई लिएर हामी एकमदै उत्साहित छौं। घरेलु मैदानमा हुँदैछ, जित्छौं।’ विमलले भने।

२३ सदस्यीय नेपाली टिम

गोलकिपर: किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु । डिफेण्डर: रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल

मिडफिल्डर: सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट। फरवार्ड: विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी।

Leave A Reply

Your email address will not be published.