बंगलादेशविरुद्ध खेल्नुअघि यस्तो भन्छन् प्रशिक्षक प्रदीप

काठमाडौं।

नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ। घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

बंगलादेशविरुद्धको खेलका लागि नेपालले अन्तिम तयारी गरिरहेको छ । नेपाल घरेलु मैदानमा बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जित निकाल्दै दशैंको बेला फुटबल समर्थकलाई खुशी पार्ने योजना रहेको बताउँछन् ।

‘अहिले २४ घण्टा राष्ट्रिय टोलीमा केन्द्रित छु । त्यसैमा इन्जोय गरिरहेको छु । खेलाडीहरु फ्रेन्डली छ, डाइनामिक छ । नेपाली खेलाडीहरु पक्कै पनि डाइमन्ड हो । गोल्ड हो । हामी टिमको रुपमा अगाडी बढिरहेका छौँ,’ आइतबार संचारकर्मीसँग कुरा गर्दै हुमागाईले भने, ‘मुख्य त नतिजा महत्वपूर्ण हो । दशैंको बेलामा नेपाली फुटबल समर्थकलाई नतिजा दिन सक्यो भने छुट्टै मजा आउछ ।’

मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टोली नेपाल आईसकेका छन् । कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर बंगलादेशी टोली नेपाल आएको हो । कम्बोडियासँगको खेलमा बंगलादेश १-० ले विजयी भएको थियो । हुमागाईले बंगलादेशी टोली राम्रो भएको भएपनि नेपाली टोली पनि त्यतिनै उत्कृष्ट रहेको बताए ।

‘बंगलादेशको फुटबल उच्च स्तरमा विकास भईरहेको छ । सबै उमेर समूहमा पनि राम्रो नतिजा निकालेको छ । नेपालसँग खेल्दै झनै राम्रो खेल्छ । देश नै विकास भईरहेको अवस्थामा फुटबल बिकस हुनु स्वभाविक प्रक्रिया पनि हो । त्यसैले पक्कैपनि उनीहरु राम्रो छ । तर, हामी पनि राम्रो छौँ,’ विपक्षी टोलीबारे हुमागाईले भने । हुमागाईले बंगलादेशविरुद्धको खेलका लागि तयारी राम्रो भएको समेत बताए । उनले सुरुआतमा टिम निर्माण गर्न भने कठिन भएको बताए ।

‘आजसम्म ट्रेनिङहरु राम्रो भएको छ । बिचमा इन्जुरी र डेंगुको समस्याले अलिकति तनाब पनि भएको थियो । तर, ट्रेनिङ अन्तिम दिनसम्म आईपुग्दा ९९ प्रतिशतले राम्रोसँग टुंगाउन सक्यौं । आशा गरौँ यो ट्रेनिङ सेसनको कारण खेल पनि राम्रो हुन्छ,’ उनले भने, ‘नेपालमा फुटबल भईरहेको थिएन । लामो समयपछि खेल्न लागेको हो । लिग र घरेलु प्रतियोगिता नभएको अवस्थामा खेलाडीलाई बोलाएर एउटा टिम बनाउन सुरूको दिनमा धेरै गार्हो भयो । खेलाडीलाई पनि फिटनेसमा गार्हो भयो । तर, अन्तिममा जे जस्तो छ त्यसलाई उपयोग गरेर हामी लक्ष्यसम्म पुग्यौं । तयारीमा अन्तुष्ट छौँ । सबै खेलाडी फिट र ठिक छन्।’

बंगलादेशविरुद्धको खेलका लागि हुमागाईले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । नेपाली टोलीमा दुई नयाँ खेलाडीले पहिलो पटक स्थान बनाएका छन् । यस्तै हुमागाईले मैत्रीपूर्ण खेलका लागि ४ गोलकिपर टोलीमा राखेका छन् । एक मैत्रीपूर्ण खेलका लागि चार गोलकिपर टोलीमा राखेको कारण हुमागाईको विरोध समेत भएको छ । तर, उनले आफ्नो सिदान्त अनुसार टिम घोषणा गरेको बताए ।

‘चार जना गोलकिपर उनीहरु राष्ट्रिय टिमका लागि योग्य छन् । उनीहरुको हार्ड वर्क, क्रियटिभीटी, उनीहरुको कामलाई सलुट गर्ने ठाउँ छ । बाध्य भयौं की उनीहरुलाई हटाउने ठाउँ नै भएन,’ उनले कारण बताए ।

तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको अनुपस्थितिमा हुमागाईले टिम हेर्ने अवसर पाएका हुन् । यस अवसरलाई उनले मौका र चुनौती दुबै ठानेका छन् । उनी जितसँगै यस अवसरलाई टुंगाउन चाहन्छन् । ‘यो मेरो लागि मौका पनि हो र चुनौती पनि हो । नेपाली फुटबल अर्को बाटोमा जाने क्रममा म पुल भएर हेल्प गर्न पाउनु सौभाग्य हो । आशा छ जितसँगै यसलाई टुंगाउन सकु,’ हुमागाईले भने।

Leave A Reply

Your email address will not be published.