पहिलोपटक राष्ट्रिय टिममा परेपछि यस्तो भन्छन् ऋतिक

काठमाडौं।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय म्याच खेल्दै छ। नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते हुनेछ। म्याच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

मैत्रीपूर्ण खेल फिफा डेअन्तर्गत हुनेछ। खेल नेपाली समयअनुसार साँझ ५ः३० बजेदेखि सुरु हुनेछ। बंगलादेशसँग मैत्रीपूर्ण म्याचका लागि नेपाली टिमसमेत घोषणा भइसकेको छ। नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्। बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईँले अन्तिम टोली घोषणा गरेका हुन्।

यसअघिका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन्। रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन्। चोटका कारण सुनिल बल टोलीमा परेका छैनन्। प्रशिक्षक हुमागाईँले कप्तान भने घोषणा गरेका छैनन्। खेलअघि कप्तान घोषणा हुने बताइएको छ।

बन्द प्रशिक्षणमा रहेका नवयुग श्रेष्ठ, सुनील बल, आयुष घलान, अभिषेक रिजाल, आभास लामिछाने, संजोग राई र रञ्जित धिमालले अन्तिम २३ मा स्थान बनाउन सकेनन्। चोटका कारण सुनील बल टोलीमा नपरेको बताइएको छ।

घरेलु टोली नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको टिकट मूल्यसमेत तय गरिसकिएको छ। एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको एन्फाले जनाएको छ।

एन्फाले मैत्रीपूर्ण खेलका लागि उपाध्यक्ष विराज जंग शाहीलाई संयोजक तोकिएको छ। मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख ६५ हजार रहेको एन्फाले जनाएको छ। नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली नेपाल आइसकेको छ। नेपालले गत जुनमा कुवेतमा एएफसी एसियन कप छनोट खेलेपछि नेपाली पुरुष फुटबल टिमले पहिलो पटक खेल्न लागेको हो।

मैत्रीपूर्ण खेल भएपनि बंगलादेश नेपालको बलियो प्रतिद्वन्द्वी हो। यतिबेला बंगलादेशको टिम बलियो देखिएको छ। नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ खेल भएकोमा नेपालले ७ र बंगलादेशले १३ खेल जितेका छन्। ३ खेल भने बराबरी भएको छ। नेपाल र बंगलादेशबीच पछिल्लो पटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको भेट १–१ को बराबरीमा सकिएको थियो।

नेपालको शीर्ष लिग ए डिभिजन लिगको पछिल्लो सिजन थ्री स्टारबाट राम्रो प्रदर्शन गरेका खेलाडी ऋतिककुमार खड्का पहिलो पटक राष्ट्रिय टिममा पर्न पाउँदा निकै खुसी छन् । ब्रिगेड व्बाइजमा सुरुका २ वर्ष र पछिल्लो ए डिभिजन लिग थ्रीस्टारबाट खेलेका उनले लिगको प्रदर्शनकै कारण राष्ट्रिय टिममा मौका बनाएका हुन्।

‘राष्ट्रिय टिममा पर्दा निकै खुसी छु। अनुभवी खेलाडीसँग खेल्दा केही चुनौतीपूर्ण हुने रहेछ,’ उनले भने, ‘मेहनत गरेकाले यो अवसर पाउँछु भन्ने लागेको थियो।’ यू–२३ राष्ट्रिय टिमबाट पनि खेलिसकेका २० वर्षीय ऋतिकले सिनियर टिमबाट देशको लागि गोल गर्ने लक्ष्य लिएका छन्।

‘मौका पाएको छु, राष्ट्रलाई केही गर्छु भन्ने छ’, फरवार्ड ऋतिकले भने। उनीसँगै यस पटक २२ वर्षीय आशिष चौधरीले पनि पहिलो पटक राष्ट्रिय टिममा मौका पाएका छन् । उनी पनि यो मौकालाई सदुपयोग गर्ने बताउँछन्।

Leave A Reply

Your email address will not be published.