काठमाडौं।
तीन खेलको टी–२० सिरिजको तेस्रो तथा निर्णायक म्याचमा अष्ट्रेलियाले भारतलाई १ सय ८७ रनको लक्ष्य दिएको छ। हैदराबादमा टस हारेर पहिले ब्याटिङको मौका पाएको पाहुना टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो।
उसका लागि टिम डेविड र क्यामरन ग्रीनले शानदार ब्याटिङ गरे। डेविडले २७ बलमा ४ छक्का र २ चौकाको मद्दतमा सर्वाधिक ५४ रनको योगदान दिए। अष्ट्रेलियाका लागि उनको यो पहिलो टी–२० आई अर्धशतक हो। उनले यसअघि संगापुरबाट टी–२० अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन्। उनले संगापुरका लागि ४ अर्धशतक बनाएका थिए।
ग्रीनले २१ बलमा ७ चौका र ३ छक्कासहित ५२ रन जोडे। ड्यानियल साम्सले अविजित २८ र जोस इंग्लिसले २४ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। भारतका लागि अक्षर पटेलले ३, भुवनेश्वर कुमार, युजवेन्द्र चहल र हर्षल पटेलले १–१ विकेट लिए।
सिरिज १-१ को अवस्थामा रहेकाले हैदराबादमा जित निकाल्ने टिमले सिरिज कब्जा गर्नेछ। भारतीय भूमिमा अस्ट्रेलिया निरन्तर हाबी हुँदै आएकाले भारत यो पटक अस्ट्रेलियाको रवाफ तोड्न चाहन्छ।
पछिल्लो पटक भारतले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध सिरिज जितेयता सिरिज जित्न सकेको छैन। त्यसपछि २०१७ मा भएको टी-२० सिरिज १-१ को बराबरीमा सकियो। पछिल्लो पटक सन् २०१९ मा भएको टी-२० सिरिजमा अस्ट्रेलिया २-० ले विजयी भएको थियो।
जारी सिरिजको मोहालीमा भएको पहिलो खेलमा अस्ट्रेलियाले १-० को जित निकाल्दा दोस्रो खेलमा भारतले नागपुरमा ६ विकेटको जित हासिल गरेको थियो। त्यसैले आइतबारको खेलमा जित निकाल्ने टिमले सिरिज जित्नेछ।