भारतले जित्यो अष्ट्रेलियासँगको सिरिज, दोहोर्‍यायो इतिहास

काठमाडौं।

पाहुना टोली अष्ट्रेलियासँगको टी–२० सिरिज भारतले जितेको छ। हैदराबादमा भएको तेस्रो तथा निर्णायक म्याचमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले सिरिज २–१ जितेको हो। यसअघि पहिलो खेलमा अस्ट्रेलियाले ६ विकेट र दोस्रो खेलमा भारतले ६ विकेटले नै विजयी भएको थियो।

अष्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। भारतको जितमा सूर्यकुमार यादव र विराट कोहलीले अर्धशतकीय पारी खेले। यादवले ३६ बलमा ५ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ६९ रन जोडे। कोहलीले ४८ बलमा ४ चौका र ३ छक्कासहित ६३ रन बनाए। हार्दिक पाण्ड्याले अविजित २५ र कप्तान रोहित शर्माले १७ रनको योगदान दिए।

अष्ट्रेलियाका लागि ड्यानियल साम्सले २, जोश हेजलवुड र प्याट कमिन्सले १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको पाहुना टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो।  उसका लागि टिम डेविड र क्यामरन ग्रीनले शानदार ब्याटिङ गरे।

डेविडले २७ बलमा ४ छक्का र २ चौकाको मद्दतमा सर्वाधिक ५४ रनको योगदान दिए। अष्ट्रेलियाका लागि उनको यो पहिलो टी–२० आई अर्धशतक हो। उनले यसअघि संगापुरबाट टी–२० अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन्। उनले संगापुरका लागि ४ अर्धशतक बनाएका थिए।

ग्रीनले २१ बलमा ७ चौका र ३ छक्कासहित ५२ रन जोडे। ड्यानियल साम्सले अविजित २८ र जोस इंग्लिसले २४ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। भारतका लागि अक्षर पटेलले ३, भुवनेश्वर कुमार, युजवेन्द्र चहल र हर्षल पटेलले १–१ विकेट लिए।

यस जितसँगै  भारतले इतिहास दोहोर्‍याएको छ। पछिल्लोपटक भारतले सन् २०१३ मा अष्ट्रेलियाविरुद्ध सिरिज जितेयता सिरिज जित्न सकेको थिएन। त्यसपछि २०१७ मा भएको टी–२० सिरिज १–१ को बराबरीमा सकियो। पछिल्लो पटक सन् २०१९ मा भएको टी–२० सिरिजमा अस्ट्रेलिया २–० ले विजयी भएको थियो।

Leave A Reply

Your email address will not be published.