काठमाडौं।
माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । मालेमा आइतबार राति भएको उद्घाटन खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको हो ।
सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाललाई माल्दिभ्सले ५१-४७ ले हराएको हो । पहिलो क्वाटरमा १४–१६ ले पछि परेको नेपालले दोस्रो क्वाटरमा १०–९ को अग्रता लिदै खेललाई २४–२५ को स्थितिमा ल्याएको थियो ।
तेस्रो क्वाटरमा १२–९ ले अग्रता लिएपछि नेपालले चौथो क्वाटरअघि ३६–३४ ले अघि रह्यो । तर, निर्णायक क्वाटरमा लय गुमाएको नेपाल ११–१७ ले पछि परेपछि ४७–५१ ले खेल गुमाउन पुगेको हो।
रोमान्चक बनेको खेलमा अन्तिम २ मिनेटको समय बाँकी हुँदा माल्दिभ्सले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध जित निकालेको हो । अघिल्लो संस्करणमा नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो ।
अब नेपालले दोस्रो खेलमा मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अन्तिम खेलमा नेपालले भुटानसँग बुधबार खेल्नेछ। प्रतियोगितामा ४ राष्ट्र सहभागी छन् ।
यसैबीच, घरेलु टोली पाकिस्तानले चौंथो टी-ट्वान्टी अन्तराष्ट्रियमा इंग्ल्यान्डलाई हराएको छ ।
कराँचीमा आइतबार राति पाकिस्तानले इंग्ल्यान्डलाई ३ रनले हराएको हो । यस जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा २-२ को बराबरी गरेको छ ।
पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो ।
इंग्ल्यान्डका लागि ह्यारी ब्रुक र लियाम डसनले समान ३४ रन बनाए । बेन डुकेटले ३३ तथा कप्तान मोइन अलीले २९ रन जोडे । पाकिस्तानका मोहमद नवाज र हरिस राउफले ३/३ विकेट लिए । मोहमद होस्नेनको नाममा २ विकेट रह्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन जोडेको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले ८८ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै बाबर आजमले ३६ तथा शान मसोदले २१ रन बनाए। इंग्ल्यान्डका रिसी टोप्लेले २ तथा लियाम डसनले १ विकेट लिए ।