यूएईले बंगलादेशलाई दियो कडा टक्कर, म्याच भने थोरैले हार्‍यो

काठमाडौं।

यूएईसँगको अन्तर्राष्ट्रिय टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा पाहुना टोली बंगलादेश ७ रनले विजयी भएको छ। गएराति  दुबईमा टेष्ट राष्ट्र बंगलादेशले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको यूएईले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रन मात्र बनाउन सक्यो।

उसका लागि चिराग सुरीले सर्वाधिक ३९, आयन अफ्जल खानले २५,आर्यन लाक्राले १९, वृत्य अरविन्दले १६, मोहम्मद वासिमले १५, कार्तिक मेइयाप्पनले १२ तथा जुनैद सिद्दिकीले ११ रनको योगदान दिए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

बंगलादेशका लागि सोरिफुल इस्लाम र मेहदी हसनले ३–३ तथा मुस्ताफिजुर रहमानले २ विकेट लिए। बंगलादेशलाई २ विकेट रन आउटको रूपमा प्राप्त भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टेष्ट राष्ट्र बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन बनायो। उसका लागि अफिफ हुसेनले शानदार ब्याटिङ गरे। उनले ५५ बलमा ७ चौका र ३ छक्काको मद्दतमा अविजित ७७ रनको योगदान दिए।

उनको यो टी–२० करियरकै उत्कृष्ट ब्याटिङ हो। यसअघि उनको उच्च स्कोर ५२ रन थियो। यस्तै कप्तान नुरुल हसनले नटआउट ३५, लिटन दासले १३ र मेहदी हसन मिराजले १२ रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

यूएईका लागि कार्तिक मयप्पनले २, जवर फरीदल साबिर अली र आयान अफजल खानले १–१ विकेट लिए। यो जितसँगै बंगलादेशले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ। बंगलादेश र यूएईबीचको दोस्रो तथा अन्तिम खेल भोलि हुनेछ। टी–२० विश्वकपको तयारी स्वरूप दुवै टिमले सिरिज खेलिरहेका हुन्।

Leave A Reply

Your email address will not be published.