नेपाल र बंगलादेशको म्याच यसरी हेर्न सकिनेछ लाइभ

काठमाडौं।

नेपाली राष्ट्रिय फुटबल टिमले भोलि मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । एन्फाले समान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजारको टिकट मूल्य राखेको छ। नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एच डीले गर्ने भएको छ।

एक्सन स्पोर्ट्सले सोमबार नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण प्रत्यक्ष प्रशारण गरिने जनाएको छ। बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आईसकेको छ । उसले कम्बोडियालाई १-० गोल अन्तरले हराएको थियो । नेपाल भने यस फिफा इन्टरनेसनल विन्डोमा पहिलो मैत्रीपूर्णको तयारीमा रहेको छ ।

बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ । सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले पछिल्लो पटक बंगलादेशविरुद्ध गत वर्षको असोजमा खेलेको थियो । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बंगलादेशले १-१ गोलको बराबरी खेलेको थियो ।

उक्त खेलमा सुमन रोजाको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । तर, अन्जन विष्टले पेनाल्टीबाट गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए । त्यसको करिब एक वर्षपछि नेपालले बंगलादेशसँग खेल्न लागेको हो ।

नेपालले पछिल्लो पटक घरेलु मैदानमा बंगलादेशलाई हराएको थियो । थ्री नेसन्स कपमा । २०७७ चैत १६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २-१ ले हराएर थ्री नेसन्सको उपाधि जितेको थियो ।

बंगलादेशविरुद्ध किरणले नै कप्तानी गर्ने

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण लिम्बुले नै गर्ने भएका छन् । नेपालले भोलि मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ। बंगलादेशविरुद्धको खेल अघि आयोजित प्रि-म्याच कन्फरेन्समा नेपालको कप्तानी किरणले गर्ने जानकारी दिइएको । बंगलादेशविरुद्धको खेलअघि सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा कप्तानको रुपमा किरण उपस्थित थिए।

यसअघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए। तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादको कारण किरण टोलीमा थिएनन्। किरण बंगलादेशविरुद्धको खेलबाट टोलीमा फर्किएका हुन्।

Leave A Reply

Your email address will not be published.