आज बंगलादेशसँग खेल्दै नेपाल, यस्तो छ दुवैबीचको ‘हेड टु हेड’ नतिजा

काठमाडौं।

नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ ।

घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो । उसले मैत्रीपूर्णमा कम्बोडियालाई १-० गोल अन्तरले हराएको थियो ।

बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ।नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ। ५ खेल बराबरीमा सकिएको छ ।

सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले पछिल्लो पटक बंगलादेशविरुद्ध गत वर्षको असोजमा खेलेको थियो । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बंगलादेशले १-१ गोलको बराबरी खेलेको थियो ।

उक्त खेलमा सुमन रोजाको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । तर, अन्जन विष्टले पेनाल्टीबाट गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए । त्यसको करिब एक वर्षपछि नेपालले बंगलादेशसँग खेल्न लागेको हो ।

नेपालले पछिल्लो पटक घरेलु मैदानमा बंगलादेशलाई हराएको थियो, थ्री नेसन्स कपमा । २०७७ चैत १६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २-१ ले हराएर थ्री नेसन्सको उपाधि जितेको थियो ।

Leave A Reply

Your email address will not be published.