आज श्रीलंकाविरुद्ध खेल्दै नेपाल, यस्तो छ रणनीति

काठमाडौं।

साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज मंगलबार दोस्रो खेल खेल्दैछ । नेपालले दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा आयोजक माल्दिभ्ससँग पराजित भएको थियो । नेपाल आयोजकसँग ५१-४७ ले पराजित भएको थियो ।

नेपाल पहिलो जितको खोजीमा रहेको छ । भुटानविरुद्ध सहज जित निकालेको श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन ।

४ राष्ट्र सहभागी प्रतियोगिताको दोस्रो खेलमा श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।

प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स पुगेका थिए ।

नेपाली टोलीमा कप्तान सदिनासँगै एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् ।

प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । नेपालका फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

यसैगरी नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ।

घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ।

घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो । उसले मैत्रीपूर्णमा कम्बोडियालाई १-० गोल अन्तरले हराएको थियो ।

बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ।नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ। ५ खेल बराबरीमा सकिएको छ ।

सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले पछिल्लो पटक बंगलादेशविरुद्ध गत वर्षको असोजमा खेलेको थियो । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बंगलादेशले १-१ गोलको बराबरी खेलेको थियो ।

उक्त खेलमा सुमन रोजाको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । तर, अन्जन विष्टले पेनाल्टीबाट गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए । त्यसको करिब एक वर्षपछि नेपालले बंगलादेशसँग खेल्न लागेको हो ।

नेपालले पछिल्लो पटक घरेलु मैदानमा बंगलादेशलाई हराएको थियो, थ्री नेसन्स कपमा । २०७७ चैत १६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २-१ ले हराएर थ्री नेसन्सको उपाधि जितेको थियो ।

Leave A Reply

Your email address will not be published.