नेपालसँग खेल्नुअघि यस्तो भन्छन् बंगलादेशका प्रशिक्षक

काठमाडौं।

नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ। घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ। नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन्।

बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ। बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो। उसले मैत्रीपूर्णमा कम्बोडियालाई १-० गोल अन्तरले हराएको थियो।

नेपालसँग खेल्नुअघि बंगलादेश टिमका प्रशिक्षक जेभियर फर्नान्डिज केबरेराले प्रतिक्रिया दिएका छन्। उनले आफूहरु जित्नकै लागि नेपाल आएको बताएका छन्। कम्बोडियालाई हालै १–० ले पराजित गरेको हुनाले उच्च मनोबलका साथ खेल्ने र जित्ने आत्मविश्वास रहेको उनको भनाइ छ।

‘हामीले कम्बोडियामाथि जित निकालेपछि हाम्रो टिमको मनोबल उच्च भएको छ। हामी बंगलादेश फर्किएको २२ दिनपछि पुन नेपाल आयौं। हामी यहाँ जित्नकै लागि आएका हौं’ उनले भने।

फर्नान्डिजले अगाडि भने, ‘हामी पहिलो मिनेटदेखि अन्तिम मिनेटसम्म खेलमा डटेर लाग्नेछौं।’ उनले नेपालका कार्यबाहक प्रशिक्षकका बारेमा पनि टिप्पणी गर्न भ्याए। ‘अमेरिकामा रहँदै आएका हुमागाईंका लागि यो पहिलो अवसर हो, हामी भोलि उहाँको खेल हेर्नेछौं।’

बंगलादेशी टिमका कप्तान जमल भुयान नेपाली मैदानसँग आफूहरु परिचित रहेकाले समस्या नहुने बताउँछन्। ‘नेपाली मैदानसँग हामी धेरै परिचित छौं तर नेपाली समर्थकहरु माझ खेल्नु सहज कुरा होइन’, उनले भने।

अघिल्लो हप्ता दशरथ रंगशालामा नै भएको महिला साफ च्याम्पियनसिपमा बंगलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो । कप्तान जमलले त्यही खेल सम्झिए। ‘एक हप्ताअघि हाम्रो महिला टिमले नेपाललाई घरेलु मैदानमा हराएर साफ च्याम्पियन बनेको थियो । हामी पनि यो यात्रालाई कायम राख्न चाहन्छौं’ उनी भन्छन्।

पछिल्लो पटक खेलेका दुई खेल थ्री नेशन्स् कप र साफ च्याम्पियनसिपको नतिजा हेर्ने हो भने नेपालले बंलादेशविरुद्ध एक खेलमा जित र अर्कोमा बराबरी खेलेको छ। बंगलादेशी टिममा अहिले त्यसको छाप नरहेको कप्तान भुयानले बताए। ‘दुई खेलहरु इतिहास हुन्। मैले त्यसलाई बिर्सिसकें। त्यसमा हाम्रो ध्यान छैन। हाम्रो ध्यान भोलिको खेलमा छ’ उनले भने।

Leave A Reply

Your email address will not be published.