बंगलादेशविरुद्ध यस्तो हुन सक्छ नेपालको सुरुवाती–११

काठमाडौं।

नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ। घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपाल र बंगलादेशबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ।

घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो । उसले मैत्रीपूर्णमा कम्बोडियालाई १-० गोल अन्तरले हराएको थियो ।

बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ।नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ। ५ खेल बराबरीमा सकिएको छ ।

सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले पछिल्लो पटक बंगलादेशविरुद्ध गत वर्षको असोजमा खेलेको थियो । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बंगलादेशले १-१ गोलको बराबरी खेलेको थियो ।

उक्त खेलमा सुमन रोजाको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । तर, अन्जन विष्टले पेनाल्टीबाट गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए । त्यसको करिब एक वर्षपछि नेपालले बंगलादेशसँग खेल्न लागेको हो ।

नेपालले पछिल्लो पटक घरेलु मैदानमा बंगलादेशलाई हराएको थियो, थ्री नेसन्स कपमा । २०७७ चैत १६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २-१ ले हराएर थ्री नेसन्सको उपाधि जितेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण खेलका लागि फरक फरक टिकट दर राखेको छ। टिकट भने अनलाइन नभइ भौतिक रुपमा नै बिक्री हुनेछ।

एन्फाले सामान्य प्यारापिटतर्फ ५०० र भीआईपीतर्फ १ हजार र ५ हजारको टिकट दर तोकेको हो। नेपाल र बंगलादेशबीचको खेलको प्रत्यक्ष प्रशारण हुनेछ। खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीले गर्नेछ।

नेपालको सम्भावित सुरुवाती–११ : किरण चेम्जोङ (कप्तान/गोलकिपर), रोहित चन्द, अनन्त तामाङ, रेजिन धिमाल, सुमन अर्याल, सुजल श्रेष्ठ, एरिक विष्ट, तेज तामाङ, अन्जन विष्ट,मनीष डाँगी र विमल घर्तीमगर।

Leave A Reply

Your email address will not be published.