काठमाडौं।
नेपालले मैत्रीपूर्ण खेलमा अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले सुरुआती अग्रता बनाएको छ । अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका हुन् ।
अन्जनले १८औं मिनेटमा गोल गरे। आँफैलाई लडाएपछि प्राप्त फ्रिकिकमा विमल घर्ती मगरको फ्रिकिकलाई अन्जनले हेडरमार्फत जाली चुमाएका हुन्।
घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो ।
उसले मैत्रीपूर्णमा कम्बोडियालाई १-० गोल अन्तरले हराएको थियो । बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ।नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ।
५ खेल बराबरीमा सकिएको छ । सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
नेपालले पछिल्लो पटक बंगलादेशविरुद्ध गत वर्षको असोजमा खेलेको थियो । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बंगलादेशले १-१ गोलको बराबरी खेलेको थियो ।
उक्त खेलमा सुमन रोजाको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । तर, अन्जन विष्टले पेनाल्टीबाट गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए । त्यसको करिब एक वर्षपछि नेपालले बंगलादेशसँग खेल्न लागेको हो ।
नेपालले पछिल्लो पटक घरेलु मैदानमा बंगलादेशलाई हराएको थियो, थ्री नेसन्स कपमा । २०७७ चैत १६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २-१ ले हराएर थ्री नेसन्सको उपाधि जितेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण खेलका लागि फरक फरक टिकट दर राखेको छ। टिकट भने अनलाइन नभइ भौतिक रुपमा नै बिक्री हुनेछ।
एन्फाले सामान्य प्यारापिटतर्फ ५०० र भीआईपीतर्फ १ हजार र ५ हजारको टिकट दर तोकेको हो। नेपाल र बंगलादेशबीचको खेलको प्रत्यक्ष प्रशारण हुनेछ। खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीले गर्नेछ।
नेपालको सुरुवाती–११ :
किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, विमल घर्तिमगर, अन्जन विष्ट।