काठमाडौं।
नेपालले मैत्रीपूर्ण खेलमा अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले ३-० गोलको अग्रता बनाएको छ ।
अन्जन विष्टले ह्याट्रिक पूरा गरेपछि नेपालले पहिलो हाफमै ३-० को अग्रता बनाएको हो । अञ्जनले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले बिमल घर्ती मगरको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन् ।
त्यसको ठीक अघि बगंलादेशका कप्तान जमल भुयानको प्रहार बारमा लागेर फर्किएको थियो । २७औं मिनेटमा उनले नै दोस्रो गोल गरे । तेज तामाङको प्रहार बंगलादेशी गोलकिपर अनिसुर रहमानले बञ्च गरेका थिए । तर रिबाउन्ड बलमा अञ्जनले गोल गरे ।
खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे । यससँगै अन्जन नेपालका लागि ह्याट्रिक गर्ने छैटौँ खेलाडी बनेका छन्।
यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए। पछिल्लो पटक नवयुगले २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए।
नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलिरहेको हो । घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।