काठमाडौं ।
अन्जन विष्टले ह्याट्रिकको मदतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि सहज जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो । नेपालका लागि सबै गोल अन्जनले गरे ।
नेपालले १८औं मिनेटमा अन्जनले गोलबाट अग्रता लिएको थियो । विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिकमाउ उनले हेडर गोल गरेका हुन् । २७औं मिनेटमाअन्जनले नै नेपालको अग्रता दोब्बर बनाए । विशाल राईले राइड साइडबाट गरेको क्रसमा विमलले पेनाल्टी क्षेत्रमा तेज तामाङलाई बल मिलाइदिए । सोही बलमा तेजको प्रहार बंगलादेशी गोलकिपर अनुसुर रहमानले पञ्च गरेका थिए, तर रिबाउन्ड आएको बललाई अन्जनले १८ यार्ड बक्सभित्रबाट सहजै जालीको दिशा दिए ।
खेलको ३८औं मिनेटमा अन्जनले ह्याट्रिक गर्दै नेपाललाई ३–० को अवस्थामा पुर्याए । विशाल राईले प्रहार गरेको फ्रिकिकमा अन्जनले पेनाल्टी क्षेत्रमा हेडर गोल गरे । अन्जनको यो १०औं अन्तर्राष्ट्रिय गोल हो । साथै नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी बने । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । पछिल्लो पटक नवयुगले २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए ।
खेलको ५७औं मिनेटमा बंगलादेशका मोहम्मद टुटुल हुसैन बादशाहले एक गोल फर्काए । रकिब हुसैनले लेफ्ट साइडबाट गरेको क्रसलाई सेसेहाङ आङदेम्बेले क्लियर गर्न नसक्दा बादशाहले उत्कृष्ट डाइभ हेडर गोल गरे ।
यसअघि खेलको १७औं मिनेटमा बंगलादेशी कप्तान जमल भुयानले करिब २२ यार्ड परबाट गरेको प्रहार लेफ्ट बारमा लागेर बाहिरिएको थियो । ५४औं मिनेटमा तेज तामाङ १८ यार्ड बक्सको राइड साइडबाट गरेको प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरिएको थियो ।
ह्याट्रिकसँगै अञ्जन विष्टले नयाँ उपलब्धि हासिल गरेका छन्। नेपालका लागि सर्वाधिक गोल गर्नेको सूचीमा संयुक्तरूपमा चौथो स्थानमा उक्लिएका छन्। उनले कूल १० अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनले ५२ खेलमा यो उपलब्धि हासिल गरे।
यसका साथै अञ्जनले विमल घर्तीमगरलाई पछि पारेका छन्। विमलले ३९ खेलमा ९ गोल गरेका छन्। विष्टले भरत खवास र अनिल गुरुङको गोल संख्या बराबरी गरेका छन्। भरत र अनिलले पनि १०–१० गोल गरेका छन्।