काठमाडौं।
नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले धेरैपछि राष्ट्रको झण्डा छातीमा राखेर खेल्न पाउँदा आफुलाई खुशी लागेको बताएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नायक बनेका अन्जनले खेलपछि बोल्दै सो कुरा बताएका हुन् ।
नेपालले मैत्रीपूर्णमा बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको थियो । जसमा अन्जनले ह्याट्रिक पूरा गरेका थिए । ‘यो खेल मात्र थिएन । धेरै पछि राष्ट्रको झण्डा छातीमा लगाएर खेल्न पाए । कहिले पनि सरकारले केही दिएन गरेन भनेर खेल्दिन भनिन। जहिले पनि देशका लागि खेले। आज पनि त्यही जोशका साथ खेले,’ उनले भने, ‘म मेरो गोल सबैलाई समर्पित गर्न चाहन्छु। यहि मार्फत सबैलाई दशैंको शुभकामना दिन चाहन्छु।’
अन्जन कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरण खेल्दा नेपाली टोलीमा थिएनन् । तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादको कारण अन्जन टोलीमा थिएनन् । ‘मलाई धेरै गोल भन्दा पनि आफ्नो टिमले जितोस भन्ने हुन्छ । आज तीन गोल गरेपछि चढेर पनि खेल्न सक्थे । तर, सेफ भएर खेले । यसअघि खेल्न नपाउदाको पीडा म शब्दमा बयान गर्न सक्दिन,’ उनले थपे।
नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो। नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो। बंगलादेशविरुद्ध लगातार पाँच खेलमा अपराजित रहँदै नेपालले कीर्तिमान बनाएको हो।
बंगलादेशका सजाद होसेनले एक गोल फर्काए । सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो । सातौं मिनेटमा गोलकिपर किरण चेम्जोङ अघि बढेको अवस्थामा सुमन अर्यालले हेडरबाट क्लियर गर्न खोजेको बल आफ्नै पोस्टतर्फ गएको थियो । तर, गोललाइन नजिकै रहेका रोहित चन्दले बल क्लियर गर्दै गोल हुनुबाट जोगाए ।
खेलको १७ औं मिनेटमा पेनाल्टी बक्सको नजिकबाट बंगलादेशका कप्तान जमल भुयानको उत्कृष्ट फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिएको थियो । तर, सेट पिसमा उत्कृष्ट देखिएको नेपालले खेलको १८ औं मिनेटमा अन्जनको गोलबाट सुरुआती बनाएको थियो । विमल घर्ति मगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन् ।
२६ औं मिनेटमा बंगलादेशका साजाद होसेनको प्रहार नेपालका गोलकिपर किरणले बचाए । २७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । विमलले उपलब्ध गराएको बलमा तेज तामाङले प्रहार गरेको बल बंगलादेशका गोलकिपर अनिसुर रहमानले पन्च गर्दै बाहिर फाले । त्यहिँ रिबाउन्ड बलमा अन्जनले उत्कृष्ट फिनिस गर्दै पोस्टको जाली चुमाए ।
३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । नुतुनले विमललाई फउल गरेपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । जसमा विशाल राईको फ्रिकिकमा अन्जनले हेडमार्फत उत्कृष्ट गोल गरे । यससँगै अन्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् । राष्ट्रिय टोलीका लागि अन्जनको यो १० औं गोल समेत हो ।
यसअघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन् । खेलको ५५ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३-१ को स्थितिमा ल्याए । रोहित चन्दलाई बिट गर्दै रकिब होसेनले उपलब्ध गराएको क्रसमा सजादले हेडमार्फत गोल गरे । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र नेपाल ३-१ ले विजयी भयो ।