काठमाडौं।
पाहुना टोली दक्षिण अफ्रिकासँगको टी–२० सिरिजको पहिलो खेलमा भारत ८ विकेट विजयी भएको छ। बुधबार राति तिरुवनन्तपुरममा दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको लक्ष्य भारत १६.४ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो।
भारतको जितमा उपकप्तान केएल राहुल र सूर्यकुमार यादवले अर्धशतकी पारी खेले। राहुलले ५६ बलमा ४ छक्का र २ चौकाको मद्दतमा सर्वाधिक नटआउट ५१ रन बनाउँदा सूर्यले ३३ बलमा ५ चौका र ३ छक्कासहित अविजित ५० रनको योगदान दिए।
उनीहरूले तेस्रो विकेटका लागि अविजित ९३ रनको साझेदारी गरे। विराट कोहली ३ र कप्तान रोहित शर्मा शून्य रनमा आउट भए। दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले र एनरिक नोर्कियाले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो।उसका लागि केशव महाराजले ४१, एडेन मारक्रमले २५ र वेन पार्नेलले २४ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
दक्षिण अफ्रिकाका ४ ब्याटर शून्य रनमा आउट भए। भारतका लागि अर्शदीप सिंहले शानदार बलिङ गरे। उनले ४ ओभरमा ३२ रन दिँदै महत्वपूर्ण ३ विकेट लिए। यस्तै दीपक चाहर र हर्षल पटेलले २–२ तथा अक्षर पटेलले १ विकेट लिए।
यस जितसँगै भारतले तीन म्याचको सिरिजमा १–० को अग्रता लिएको छ। भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० म्याच आउँदो आइतबार हुनेछ।