काठमाडौं।
नेपालमा पनि क्रिकेटको लोकप्रियता बढ्दै गइरहेको छ। नेपालले पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकप खेलेपछि यहाँ क्रिकेटको लोकप्रियता झनै बढ्दै गएको पाइन्छ। नेपालसँग अहिले टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय क्रिकेटको मान्यता छ।
नेपाली समर्थकहरू नेपालले टेष्ट क्रिकेट खेलेको हेर्न चाहन्छन्। त्यो अहिले नै पूरा हुने सम्भावना कमै छ। त्यसका लागि घरेलु क्रिकेट र संरचना निर्मार्णमा सरकार र नेपाल क्रिकेट संघ (क्यान)ले ध्यान दिनुपर्ने हुन्छ।
यसैक्रममा फ्यानहरूले अहिले नेपाली मूलका क्रिकेटर जय विष्टलाई नेपाल बोलाउनुपर्ने माग गरिरहेका छन्। खराब ब्याटिङ गरिरहेको नेपाली टिममा विष्टलाई बोलाउनुपर्ने धेरै नेपाली समर्थकको माग छ। विष्टले भारतमा शानदार प्रदर्शन गरिरहेका छन्।
जयले भारतको प्रतिष्ठित रणजी ट्रफी, विजय हजारे ट्रफी एकदिवसीय क्रिकेटलगायत भारतका ठूला प्रतियोगिता खेलिसकेका छन्। उनको जन्म २३ डिसेम्बर १९९५ मा मुम्बइ महाराष्ट्रमा भएको थियो। जयको पुख्र्यौली घर सुदूरपश्चिमको अछाम जिल्ला हो।
जयका पिता गोकुल विष्ट पनि क्रिकेटर हुन्। मुम्बईका लागि खेल्ने नेपाली मूलका जय पहिलो खेलाडीसमेत हुन्। उनी दायाँ हाते ओपनिङ ब्याट्सम्यान तथा पार्टटाइम अफ स्पिनर बलर पनि हुन्।
विष्टले मुम्बईको पीजे हिन्दु जिमखानाबाट आफ्नो क्रिकेट सुरु गरे। तर, उनका बुवाको आग्रहमा उनले क्रिकेट–संस्कृत शारदाश्रम विद्यामन्दिर स्कूलमा भर्ना भए। उनले मुम्बई क्रिकेटको कठिनाइहरू पार गरे। लगभग हरेक उमेर समूहको स्तरमा प्रतिनिधित्व गर्दै उनले अण्डर–१४ देखि अन्डर–२३ सम्म खेले।
उनले सन् २०१५ मा प्रथम श्रेणी क्रिकेटमा डेब्यू गरे। उनले अहिलेम्म ३० प्रथम श्रेणी क्रिकेट खेलेका छन्। जसमा ४ शतक र ६ अर्धशतकको मद्दतमा १ हजार ७ सय १० रन बनाएका छन्। उनको उच्च स्कोर १ सय ३५ रन छ। उनले प्रथम श्रेणी क्रिकेटमा १८ विकेट पनि लिएका छन्।
यसका साथै जयले २५ लिस्ट ए म्याच पनि खेलेका छन्। जसमा उनले १ शतक र ८ अर्धशतकसहित १ हजार १९ रन जोडेका छन्। उनको उच्च स्कोर १ सय ४१ रन छ। उनको नाममा ४ विकेट पनि छ। टी–२० पनि उनको प्रदर्शन राम्रो छ।
उनले ३३ म्याचमा ७ अर्धशतकसहित १ हजार १ रन बताएका छन्। टी–२० उनको उच्च प्रदर्शन ९२ रन रहेको छ। उनले टी–२० मा २ विकेट पनि लिएका छन्। २६ वर्षीय जयले रणजी ट्रफीमा उत्तराखण्डको लागि कप्तानी गर्छन्। उनले श्रेयस अय्यर, सूर्यकुमार यादव, शार्दुल ठाकुर, पृथ्वी शालगायत भारतीय स्टार खेलाडीसँगै खेलिसकेका छन्।
जयलाई नेपाल बोलाएर कप्तान बनाउनुपर्ने पनि नेपाली समर्थकहरूको छ। तर, भारतमा राम्रै प्रदर्शन गरिरहेकाले तत्काल जय नेपाल आएर खेल्ने सम्भावना कम छ। यद्यपि, नेपाल क्रिकेट संघ (क्यान)ले पहल गरेर उनलाई ल्याउन चाहेमा उनी आउन पनि सक्छन्। हाललाई भने उनी नेपाल आउने सम्भावना कमै देखिन्छ।