चेल्सीको उत्कृष्ट पुनरागमन जित, आर्सनलले टोटेनहमलाई हरायो

काठमाडौं।

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ। शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले हराएको हो । खेलको सातौं मिनेटमा ओड्सोने एडोवार्डले गोल गर्दै क्रिस्टललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३८ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा कोनोर गल्लाघेरले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

जितसँगै चेल्सीले ७ खेलमा १३ अंक जोडेको छ । चेल्सी पाँचौं स्थानमा उक्लिएको छ । क्रिस्टल ६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

आर्सनलले टोटेनहमलाई हरायो
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटेनहमलाई हराएको छ । शनिबार भएको खेलमा घरेलु टोली आर्सनलले टोटेनहमलाई ३–१ गोल अन्तरले हराएको हो ।

जितसँगै नर्थ लण्डन क्लब प्रिमियर लिगको तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । इमर्सन रोयल्सले रातो कार्ड खादै मैदान बाहिरिएपछि टोटेनहम १० खेलाडीमा सिमित बन्यो । दोस्रो हाफमा दुई गोल थप्दै आर्सनलले टोटेनहममाथि शानदार जित निकाल्यो ।

थोमस पार्टले गोल गर्दै आर्सनललाई सुरुवात अग्रता दिलाएका थिए । ह्यारी केनले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा टोटेनहमलाई खेलमा फर्काएका थिए ।

दोस्रो हाफ सुरु भए लगत्तै ग्याब्रियल जिससले गोल गर्दै आर्सनललाई अघि बढाए । इमर्सन ६२ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि टोटेनहम १० खेलाडीमा सिमित बन्यो। त्यसको ५ मिनेटमा ग्रेनाइट जाकाले आर्सनलका लागि तेस्रो गोल थपे ।

शीर्ष स्थानमा उक्लिएको आर्सनलले ८ खेलबाट २१ अंक जोडेको छ । टोटेनहम १७ अंक सहित तेस्रो स्थानमा छ ।

Leave A Reply

Your email address will not be published.