काठमाडौं।
पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा जित निकालेको छ शनिबार राति मेस्सी र एमबाप्पे प्रेरित पीएसजीले नाइसलाई २–१ ले हराएको हो । उसको जितमा लियोनल मेस्सी र केलियन एमबाप्पेले गोल गरे।
मेस्सीले २९ औं मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै नाइसका गेटन लाबोर्डेले खेल बराबरीमा ल्याएका थिए ।
बराबरीतर्फ उन्मुख खेलमा बैकल्पिक खेलाडीको रुपमा बेन्चबाट मैदान छिरेका एमबाप्पेले गोल गर्दै पीएसजीलाई जित दिलाए । जितसँगै पीएसजी लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । सबै प्रतियोगितामा पीएसजीको यो लगातार सातौं जित हो ।
क्रिस्टोफ गाल्टियरले क्लब सम्हालेपछि पीएसजीले हार ब्यहोरेको छैन । उनले गत सिजन नाइसलाई सम्हालेका थिए । मौरिसियो पोचिटिनोलाई बर्खास्त गरेपछि गाल्टियरलाई पीएसजीले मुख्य प्रशिक्षक बनाएको हो ।
पीएसजीले ९ खेलबाट २५ अंक जोडेको छ । नाइस ८ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।
यस्तै, रोबर्ट लेवान्डोस्की चम्किएको खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । शनिबार राति लेवान्डोस्कीकै गोलमा बार्सिलोनाले मालोर्कालाई १–० गोल अन्तरले हराएको हो ।
खेलको २० औं मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि विजयी गोल गरेका थिए । लेवान्डोस्कीले पछिल्ला ७ लिग खेलमा ९ गोल गरेका छन् । उनी गत समरमा बायर्न म्युनिखबाट बासिलोना आएका हुन् ।
बार्सिलोनाले यस सिजन ६ खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ । बार्सिलोनाको प्रतिद्धन्दी रियल मड्रिडले सतप्रतिशत जित हासिल गरेको छ ।
जितसँगै बार्सिलोना ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । उसले ७ खेलबाट १९ अंक जोडेको छ । मालोर्का ८ अंक सहित तालिकाको दशौं स्थानमा छ ।
आईतबारको खेलमा ओसासुनामाथि जित निकालेको खण्डमा रियल मड्रिड सतप्रतिशत जितसहित पुन शीर्ष स्थानमा उक्लिनेछ ।