काठमाडौं।
राष्ट्रिय टिमबाट खेल्ने हरेक खेलाडीको चाहना हुन्छ। कसै खेलाडीको त्यो इच्छा पूरा हुन्छ भने कसैको अधुरो नै रहन्छ। राष्ट्रिय टिममा परिसकेपछि उत्कृष्ट प्रदर्शन गर्ने र देशलाई बढीभन्दा बढी म्याच जिताउने लक्ष्य पनि खेलाडीको हुन्छ। कुनै पनि फुटबल खेलाडीको धेरैभन्दा धेरै गोल गर्ने चाहना हुन्छ। फुटबलमा ह्याट्रिक आफैंमा दुर्लभ हुने गर्छ।
केही खेलाडीले मात्रै ह्याट्रिक गर्छन्। नेपाली खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा बिरलै मात्र ह्याट्रिक गरेका छन्। नेपालले सन् १९८२ को एसियाली खेलकुददेखि औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो। अहिलेसम्म ६ नेपाली खेलाडी अन्तर्राष्ट्रिय म्याचमा ह्याट्रिक गर्न सफल भएका हुन्। यसैक्रममा आज हामी नेपालका लागि ह्याट्रिक गर्ने ६ नेपाली खेलाडीका बारेमा चर्चा गर्दैछौं।
१. गणेश थापा, भुटानविरुद्ध सन् १९८७
नेपाली फुटबलले पाएका सबैभन्दा अब्बल दर्जाका खेलाडीमध्ये एक हुन्, गणेश थापा। सन् ८० को दशकतिर उनी आफेनो खेलजीवनकै उत्कृष्ट लयमा थिए। सन् १९८७ मा भारतले दोस्रो दक्षिण एसियाली खेलकुदको आयोजना गरेको थियो। त्यसकै लिग चरणको दोस्रो खेलमा उनले पहिलो ऐतिहासिक ह्याट्रिक पनि गरे। कोलकातामा भएको फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई १–० ले हराएको थियो।
त्यसलगत्तै भुटानविरुद्ध प्राप्त ६–२ जितमा थापाले गोल गरेका हुन्। बाँकी तीन गोलमध्ये दुई मणि शाह र एक वाईबी घलेको नाममा रह्यो। त्यो बेला नै कोलकातामा उनी खुबै लोकप्रिय खेलाडी सावित भइसकेका थिए। उनको खेल हेर्न मात्र पनि कोलकाताको दर्शक रंगशालासम्म जाने गर्थे। लिग चरणको दुवै खेल जितेर नेपाल फाइनल पुगेको थियो र त्यसमा नेपाल भारतविरुद्ध पराजित भने रह्यो। भुटानविरुद्धको खेललाई उनी आफ्नो जीवनकै उत्कृष्ट प्रदर्शनमध्ये एक मान्छन्।
२. नरेश जोशी, श्रीलंकाविरुद्ध सन् १९९९
गणेश थापाको पहिलो ह्याट्रिकपछि अर्को तीन गोलको उपलब्धिका लागि नेपाली फुटबलले लामै समय पर्खिनुप¥यो १२ वर्ष। दोस्रो ह्याट्रिक नरेश जोशीको नाममा छ। आफ्नो खेलजीवनपछि उनी जापानतिर लागे, त्यसैले उनीबारे नेपाली फुटबलमा कमै मात्र चर्चा हुने गर्छ। नेपालका लागि सम्भवतः ६ ह्याट्रिकमध्ये सबैभन्दा कम चर्चा भएको पनि यो नै हो। उनले सन् १९९९ मा श्रीलंकाविरुद्ध भारतको गोवामा तीन गोल गरेका थिए।
अवसर थियो साफ च्याम्पियनसिप। त्यस खेलमा नेपाल ३–२ ले विजयी भयो। यो समूह चरणमा नेपालको पहिलो खेल नै थियो र यही खेलले नेपाललाई सेमिफाइनल पनि पु¥याएको थियो। त्यसपछि भने नेपाल त्यही प्रतियोगिताका बाँकी ४ खेलमा लगातार पराजित रह्यो। साफ च्याम्पियनसिप इतिहासमा नेपालको अहिलेसम्मकै खराब प्रदर्शनमध्ये यो पनि एक अवसर हो। सायद यही कारणले गर्दा पनि नरेशको ह्याट्रिकले उति साह्रो चर्चा पाएन, जति पाउनुपर्ने थियो।
३. नीराजन रायमाझी, मकाओविरुद्ध सन् २००१
विश्वकप छनोटमा नेपालको अहिलेसम्मकै सबैभन्दा उम्दा प्रदर्शन सन् २००१ मा देखिएको थियो, जतिबेला नेपालले बग्दाद र अल्माटीमा दुई लेगमा भएका छनोट खेलमा वास्तवमै सम्झनलायक प्रदर्शन गरेको थियो। पहिलो लेग बग्दादमा भएको थियो। त्यसमा नेपालले मकाओलाई ४–१ ले हराएको थियो।
अल्माटीमा भएको दोस्रो लेगमा पनि नेपाल मकाओविरुद्ध जित निकाल्न सफल रह्यो। गोल अन्तर थियो ६–१। अन्तर्राष्ट्रिय फुटबलमा नेपालको एकपक्षीय जितमध्ये एक पर्छ यो नतिजा। त्यही खेलमा हो, नीराजनले ह्याट्रिक गरेको। नेपालका लागि त्यो छनोटको अन्तिम खेल पनि थियो।
नेपालका लागि नीराजनबाहेक बालगोपाल महर्जन, दीपक लामा र वसन्त थापाले पनि एक–एक गोल गरे। नीराजनसँगै हरि खड्काको नाममा छ नेपालका लागि सर्वाधिक १३ गोलको कीर्तिमान। दुःख के छ भने नीराजनले आफू लयमै रहेका बेला फुटबल छाडे, पछि पुनरागमन भनेका गरेका थिए।
४. भरत खवास, नर्थन मारियाना आइल्यान्डविरुद्ध सन् २०१३
सुरुआती तीन ह्याट्रिक संयोगले विदेशी भूमिमै सम्भव भए। धेरैभन्दा धेरै नेपाली फुटबलप्रेमीले त्यसलाई हेर्न नै पाएनन्, सुनेका मात्र थिए। दशरथ रंगशालामै सम्भव पहिलो ह्याट्रिक भने भरत खवासको नाममा रह्यो र अवसर थियो सन् २०१३ को एएफसी च्यालेन्ज कप छनोट। अनि प्रतिद्वन्द्वी थियो नर्थन मारियाना आइल्यान्ड। प्रतियोगिताको आफ्नो पहिलो खेलमै नेपालले नर्थनमाथि ६–० को जित निकालेको थियो।
त्यतिबेला भरत आफैं उत्कृष्ट लयमा थिए। यसैक्रममा उनले दशरथ रंगशालामा सम्भवतः पहिलो ऐतिहासिक ह्याट्रिक बनाए। त्यस खेलमा नेपालका लागि सन्तोष साहुखल, राजु तामाङ र सन्दीप राईले पनि एक–एक गोल गरेका थिए। त्यस ह्याट्रिकसँगै भरतले नेपालका लागि गरेको गोलसंख्या ७ पुगेको थियो। विश्वास गरिएको थियो उनीबाट हरि र नीराजनको उपलब्धि तोडिनेछ। तर, उनी त्यहाँसम्म पुग्नै सकेनन्, पर्याप्त सम्भावना बोकेर पनि।
५. नवयुग श्रेष्ठ, माल्दिभ्सविरुद्ध सन् २०१६
प्रतिद्वन्द्वीताको आधारमा नेपालका लागि सम्भवतः ६ ह्याट्रिकमध्ये सबैभन्दा उम्दा रह्यो नवयुग श्रेष्ठको। बंगलादेशमा सन् २०१६ मा भएको बंगबन्धु गोल्डकपका क्रममा उनले माल्दिभ्सविरुद्ध यो उपलब्धि चुमेका थिए।
संयोग नै मानौं, नेपाली फुटबलमा नवयुग त्यस्ता नाम हुन्, जसको धेरै योगदान त छ। तर, चर्चा उति साह्रो हुन्न। सायद यो उनीप्रति एक प्रकारले अन्याय नै हो। तर माल्दिभ्सविरुद्ध उनले गरेको ती गोलले प्रमाणित गर्छ, उनी कस्ता खेलाडी हुन् भनेर। यो प्रतियोगिताअगाडि नेपाली फुटबलमा दुई स्थिति थियो।
पहिलो स्थिति, माल्दिभ्सले फुटबलमा लोभलाग्दो प्रगति गरेको थियो, त्यसैले नेपालले उसलाई हराउन बिर्सेको थियो। दोस्रो, लामो समयदेखि नेपाली फुटबल अन्तर्राष्ट्रिय उपाधिका खडेरीबाट गुज्रिइरहेको थियो। यी दुवै अवसर तोड्ने काम भएको थियो, यही बंगबन्धु गोल्डकपमा। यो प्रतियोगिताकै नायक हुन् नवयुग। परिस्थिति र आवश्यकता दुवै अर्थमा यो सबैभन्दा उत्कृष्ट ह्याट्रिक हो भन्नेमा दुईमत हुन सक्दैन।
६. अञ्जन विष्ट, बंगलादेशविरुद्ध सन् २०२२
धेरै अर्थमा अञ्जनको ह्याट्रिक पनि विशेष छ। यो तीन गोललाई विशेष हो भनेर सिद्ध गर्नसक्ने आधार धेरै छन्। पहिलो त उनी र उनीसँगै अन्य खेलाडीमा एकखाले इख थियो नै, पुराना प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध। यी कुवेती प्रशिक्षक हटेपछि अञ्जनले नेपाली टिममा निर्विवाद मौका पाइहाले र यसलाई खेर पठाएनन्। पहिलो हाफको १९ मिनेटभित्र उनले तीन गोल गरे। यी तीनै गोल वास्तवमै ‘क्लिन गोल’ थिए, उत्तिकै स्वादिलो।
यससँगै उनले नेपालका लागि गरेको गोलसंख्या पनि १० पुगेको छ। अब भने आस गर्न सक्छौं, तिनै हरि र नीराजनको नामको १३ गोलको कीर्तिमान कसैले तोड्न सक्छ भने हाललाई यिनै अञ्जनमात्रै छन्। अञ्जन युवा छन्। उनमा नेपालका लागि मज्जाले अर्को ५ वर्ष खेल्ने अवसर छँदै छ। यसका लागि उनीबाट उत्तिकै त्याग र तपस्या भने अपेक्षा गर्नुपर्छ। अबको दिनमा यी खेलाडीलाई कुनै प्रकारले कहींकतै भौतारिन दिनुहुन्न। –कान्तिपुर।