काठमाडौं।
टी–२० सिरिजको दोस्रो म्याचमा भारतले पाहुना टोली दक्षिण अफ्रिकालाई २ सय ३८ रनको लक्ष्य दिएको छ। गुवाहाटीमा टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो।
उसका लागि सूर्यकुमार यादव र केएल राहुलले अर्धशतकीय पारी खेले। सूर्यकुमारले मात्र २२ बलमा ५ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ६१ रनको योगदान दिए। यससँगै उनले टी–२० आईमा एक हजार रनसमेत पूरा गरेका छन्।
सूर्यकुमार यादवले विश्व कीर्तिमान बनाएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा सबैभन्दा कम बलको सामना गर्दै छिटो एक हजार रन पूरा गर्ने खेलाडी बन्दै उनले कीर्तिमान बनाएका हुन्। राहुलले २८ बलमा ५ चौका र ४ छक्कासहित ५७ रन बनाउँदा विराट कोहलीले २८ बलमा ७ चौका र १ छक्काको मद्दतमा नटआउट ४९ रन जोडे।
कप्तान रोहित शर्माले ४३ रन बनाउँदा दिनेश कार्तिकले ७ बलमा २ छक्का र १ चौका हिर्काउँदै अविजित १७ रनको पारी खेले। दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिए। सूर्यकुरमा रनआउट भएका थिए।
भारतीय टोलीले फेरि पायो नयाँ कप्तान, टिममा व्यापक परिवर्तन
दक्षिण अफ्रिकासँगको तीन एकदिवसीय सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ। यस टोलीको कप्तान शिखर धवनलाई बनाइएको छ। यो टोलीबाट धेरै केही महत्वपूर्ण खेलाडीलाई विश्राम दिइएको छ।
धवनबाहेक श्रेयस अय्यरलाई टोलीको उपकप्तान बनाएको छ। केही समयदेखि रोहित शर्माको अनुपस्थितिमा एकदिवसीय टोलीमा धवनले कप्तानी गरिरहेका छन्। भारतले दक्षिण अफ्रिकासँग तीन एकदिवसीय सिरिज खेल्नेछ ।
टी–२० विश्वकप खेल्ने टोलीका खेलाडीलाई यो टोलीमा समावेश गरिएको छैन। एकदिवसीय क्रिकेटमा शिखर धवनको नेतृत्व राम्रो रहेको छ। घरेलु मैदानमा ५० ओभरको ढाँचामा धवनको कप्तानी कस्तो रहन्छ त्यो भने हेर्न बाँकी छ।
युवा खेलाडीहरूले सजिएको टोलीसँग आफूलाई प्रमाणित गर्ने राम्रो मौका छ। टोलीमा पहिलो पटक छनोट भएका केही खेलाडी छन्। जसमा रजत पाटिदार पहिलो पटक एकदिवसीय टिममा परेका छन्।
मुकेश कुमारले पहिलो पटक भारतीय टिममा स्थान बनाएका छन्। उनी बाहेक यो टोलीमा शाहबाज अहमद पनि परेका छन्। विश्वकपलाई ध्यानमा राख्दै सिनियर खेलाडीलाई आराम दिइएको छ। विकेटकिपरको रूपमा इशान किशन र सञ्जु सामसनले मौका पाएका छन्।
ओपनरको रूपमा शिखर धवनबाहेक रुतुराज गायकवाड र शुभमन गिलले मौका पाएका छन्। फास्ट बलिङमा शार्दुल ठाकुर, आवेश खान, मोहम्मद सिराज र दीपक चाहरले मौका पाएका छन्। यी दुई देशबीचको पहिलो एकदिवसीय अक्टोबर ६ मा लखनउमा हुनेछ। दोस्रो एकदिवसीय राँचीमा ९ अक्टोबरमा हुनेछ। तेस्रो एकदिवसीय म्याच नयाँ दिल्लीमा ११ अक्टोबरमा खेलिनेछ।