काठमाडौं।
पाहुना टोली दक्षिण अफ्रिकासँगको टी-२० सिरिज भारतले जितेको छ। आइतबार राति भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १६ रनले हराउँदै भारतले एक म्याच अगावै सिरिज २-० ले उचालेको हो। भारत पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो।
भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २० ओभर पूरै खेल्दै २ विकेट गुमाएर २ सय २१ रन बनायो।
उसका लागि डेविड मिलरले शतकीय पारी खेले। उनले ४७ बलमा ८ चौका र ७ छक्कासहित अविजित १०६ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। यस्तै क्विन्टन डीककले ४८ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा नटआउट ६९ रन बनाए।
एडेन माक्रमले ३३ रन जोड्दा कप्तान टेम्बा बभुमा ७ बल खेल्दै शून्यमा आउट हुँदा राइली रोसोउ पनि डक आउट भए। भारतका अर्शदीप सिंहले २ र अक्षर पटेलले १ विकेट लिए।
त्यसअघि गुवाहाटीमा टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बबनाएको थियो। उसका लागि सूर्यकुमार यादव र केएल राहुलले अर्धशतकीय पारी खेले।
सूर्यकुमारले मात्र २२ बलमा ५ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ६१ रनको योगदान दिए। यससँगै उनले टी–२० आईमा एक हजार रनसमेत पूरा गरेका छन्। सूर्यकुमार यादवले विश्व कीर्तिमान बनाएका छन्।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा सबैभन्दा कम बलको सामना गर्दै छिटो एक हजार रन पूरा गर्ने खेलाडी बन्दै उनले कीर्तिमान बनाएका हुन्। राहुलले २८ बलमा ५ चौका र ४ छक्कासहित ५७ रन बनाउँदा विराट कोहलीले २८ बलमा ७ चौका र १ छक्काको मद्दतमा नटआउट ४९ रन जोडे।
कप्तान रोहित शर्माले ४३ रन बनाउँदा दिनेश कार्तिकले ७ बलमा २ छक्का र १ चौका हिर्काउँदै अविजित १७ रनको पारी खेले। दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिए। सूर्य रनआउट भएका थिए। यी दुई देशबीचको तेस्रो तथा अन्तिम टी–२० म्याच मंगलबार हुनेछ।