विदेशी लिगमा मौका पाउँदै अन्जन, सम्भावित मूल्य नै करोडौं रुपैयाँ

काठमाडौं।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड तथा स्ट्राइर अञ्जन विष्टले अब अन्तर्राष्ट्रिय क्लब फुटबल खेल्ने भएका छन् । बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कीर्तिमानी ह्याट्रिकपछि थप चर्चा कमाएका उनले रुइज एण्ड गोमेज नामक एक फुटबल एजेन्सीले अन्तर्राष्ट्रिय लिग फुटबलका लागि क्लब खोजिदिन सहकार्य गर्ने भएको हो ।

अञ्जनलाई क्लब खोजिदिने रुइज एण्ड गोमेज विशेषगरी दक्षिण पूर्वएसियाली मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, सिङ्गापुर, म्यानमार, कम्बोडियालगायत देशको क्लबमा खेलाडीहरूको सम्झौता गराउन सफल भएको छ । एउटा खेलाडी अन्तर्राष्ट्रिय फुटबलमा कुनै क्लबसँग आवद्ध हुन एजेन्टको खाँचो पर्दछ । कुनै एजेन्टमा आफ्नो नाम दर्ता भएसँगै उसले नै क्लबहरू खोजिदिने, कन्ट्रयाक्ट डकुमेन्टदेखि खेलाडीको मूल्यसमेत मिलाइदिने काम गर्दछ । अञ्जनका लागि रुइज एण्ड गोमेजले मलेसिया, थाइल्याण्ड र इन्डोनेसियाका क्लबहरू खोजिरहेको बुझिएको छ ।

यद्यपि ती देशका कुन डिभिजनको क्लबसँग रुइज एण्ड गोमेजले वार्ता गरिरहेको छ त्यो भने अञ्जनलाई क्लबले सम्झौता गरेपछि मात्रै आगामी ट्रान्सफर विन्डोमा थाहा हुनेछ । ट्रान्सफर मार्केटमा उल्लेखित विवरणअनुसार हाल अन्तर्राष्ट्रिय बजारमा अञ्जनको मूल्य १ करोड ३० लाख नेपाली रुपैयाँ छ । यस्तोमा उनलाई दक्षिण पूर्वी एसियाली क्लबले अनुबन्ध गर्न सक्छन् । क्लबहरूले अञ्जनलाई १ करोड ३० लाख वा सोभन्दा बढी मूल्यमा पनि अनुबन्ध गर्ने सम्भावना छ ।

नेपाली राष्ट्रिय टिममा आठ वर्ष बिताइसकेका उनी वर्तमान टोलीका सर्वाधिक गोलकर्ता हुन् । बंगलादेशसँगको खेलमा ह्याट्रिक गर्दै उनले टोलीभित्रका आफ्नै समकालिन फरवार्ड विमल घर्ती मगरको ९ गोलको कीर्तिमान तोडेका छन् । राष्ट्रिय टोलीबाट ५० अन्तर्राष्ट्रिय खेल खेलिसकेका अञ्जनले सन् २०१९ मा भएको विश्वकप तथा एसियन कपको संयुक्त छनोटताका चाइनिज टाइपेईविरुद्धको खेलमा २ गोल गर्दै खाता खोलेका थिए । त्यसयता उनीबाट आएका सबै १० गोल तीन वर्षको अवधिमा भएका हुन् ।

राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा समान १३/१३ गोलसहित शीर्ष स्थानमा रहेका हरि खड्का र निराजन रायमाझीको रेकर्ड तोड्न अञ्जन अब केवल ३ गोल मात्रै पछाडि छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उनले मनाङ मर्स्याङ्दी र नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीको कप्तानी गरिसकेका छन् । अहिले किरण चेम्जोङ, रोहित चन्द, मनिष डाँगीलगायत नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्लब फुटबलमा आफ्नो उपस्थिति देखाइरहेका छन् ।

घरेलु तथा अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीका निमित्त अझै राम्रो प्रदर्शन देखाउने हो भने भोलिका दिनमा स्टार खेलाडी विमल घर्ती मगर, डिफेन्डर अनन्त तामाङ, यू–२० टोलीका कप्तान आयुष घलानलगायत युवा खेलाडीले पनि विदेशी क्लबबाट खेल्न दिने टाढा छैन । तर, यसका लागि भने सम्बन्धित फुटबल निकाय र सरकारले समेत घरेलु तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधिलाई जोड दिनुपर्छ।

बहराइनमा चम्किँदै मनिष डाँगी

नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड मनिष डाँगी अहिले बहराइनमा रहेका छन्। उनले त्यहाँ व्यवसायिक फुटबल खेलिरहेका छन्। २०२२–२३ को सिजनका लागि मनिषलाई बहराइनको दोस्रो डिभिजन क्लब इतिहाद अल रिफ क्लबमा अनुबन्धित गरेको थियो।

उनले अहिले त्यहाँ ‘बहराइन किंग्स कप’ खेलिरहेका छन्। गएराति भएको खेलमा मनिष आवद्ध इतिहाद अल रिफ क्लब विजयी भएको छ। अल इत्तिफाक मकाबाविरुद्ध इतिहाद अल रिफ २–० गोलले विजयी भएको हो। इतिहाद अल रिफ क्लबको जितमा मनिषको भूमिका पनि अहम् रह्यो। उनले एक सुन्दर असिस्ट दिएका थिए।

खेलको ४१औँ मिनेटमा मनिषको असिस्टमा अगुनाल्डोले टिमलाई १–० को अग्रता दिलाए। त्यसपछि खेलको ७५औँ मिनेटका अलिले गोल गर्नै टिमलाई २–० को शानदार जित दिलाएका हुन्। दक्षिण कोरियाको फुटबल एकेडेमीमा फुटबल खेलेर नेपाल फर्किएका मनिषले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) विराटनगर सिटी एफसीबाट खेलेका थिए।

उनी दोस्रो संस्करणको एनएसएलका लागि पनि विराटनगरमै आवद्ध छन्। मनिषले सहिद स्मारक ‘ए’डिभिजन लिग भने साविकको विजेता मछिन्द्र क्लबबाट खेलेका थिए। पहिलो संस्करणको एनएसएल खेलेदेखि उनी नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य छन्। उनलाई नेपाली टिमका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले डेब्यू गराएका थिए।

उनले विश्वकप छनोटको तयारी स्वरूपमा इराकमा भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए। पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएका मनिषले इराकविरुद्ध पहिलो रोजाइमै खेल्ने अवसर पाएका थिए। र, उनले डेब्यूमै उत्कृष्ट गोलसमेत गरेका थिए। उनले खेलको २९औं मिनेटमा सन्तोष तामाङको चलाखीपूर्ण पासमा गोल गरेका थिए। यस्तै, गत वर्ष असोजमा सम्पन्न साफ च्याम्पियनसिप माल्दिभ्सविरुद्ध एक गोल गरेका थिए।

Leave A Reply

Your email address will not be published.