काठमाडौं।
नेपाली यू–१७ राष्ट्रिय फुटबल टिम अहिले भियतनाममा छ। नेपाली टिम एएफसी यू–१९ एसियन कप छनोटका लागि सोमबार दिउँसो भियतनाम पुगेको हो। छनोटमा नेपाल समूह ‘एफ’मा छ। यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेइ छन्।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ। खेल भियतनामकाे फु थाे प्राेभिन्सियल स्टेडियममा दिउँसाे पाैने ३ बजेबाट सुरु हुनेछ। एएफसी यू–१९ एसियन कप छनोट खेल्नुअघि टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रतिक्रिया दिएका छन्। उनले टोलीको मुख्य लक्ष्य एएफसी यू–१७ एसियन कपमा छनोट हुने रहेको बताएका छन्।
उनले छनोट हुन नसके समूहको दोस्रो हुने र राम्रो खेल पस्कने योजना रहेको बताएका छन्। ‘प्राथमिक लक्ष्य भनेको छनोट हुने नै हो। त्यसो हुन नसके कमसेकम समूहमा दोस्रो हुने र छनोटको ढोका खुला राख्ने हाम्रो चाहना हो। समूहमा बलिया टिम छन् । हामी पनि बलियो नै छौँ । हामी राम्रो खेल देखाउन चाहन्छौँ,’ श्रेष्ठले भने।
‘समूहका अरु तीन टिमको खेल हामीले देखेका छैनौँ। तर मलाई लाग्छ यो उमेर समूहमा लगभग सबै टिमको स्तर उस्तै हुन्छ। सबै टिमका खेलाडी सिकाइकै क्रममा हुन्छन्। सबै टिमका किशोर खेलाडी जोसिला नै हुन्छन्,’ श्रेष्ठले विपक्षी टिमबारे भने, ‘मुख्य कुरा खेलाडीले मैदानमा आफ्ना प्रशिक्षकले योजना बनाएअनुसारले खेल्न सक्छन् कि सक्दैनन् भन्ने हो। जुन टिमले प्रशिक्षकको योजना सफल बनाउँछ, त्यही टिमले नतिजा आफ्नो पक्षमा पार्छ।’
प्रशिक्षक श्रेष्ठले यस प्रतियोगिता नेपाली फुटबलको स्तर र प्रतिभा देखाउने मन्च भएको बताएका छन्। ‘यो प्रतियोगिता नेपाली फुटबलका लागि आफ्नो स्तर र प्रतिभा देखाउने मञ्च पनि हो। यहाँ राम्रा खेल्न सके, एसियाली मञ्चमा नेपाली फुटबलले प्रतिस्पर्धा गर्नसक्छ भनेर फेरि एकपटक प्रमाणित हुनेछ,’ उनले भने।
नेपाली टोलीले सोमबार साँझ अभ्यास गरेको थियो। जसम खेलाडीहरू पूर्ण रूपमा फिट देखिएको उनले बताएका छन्। प्रशिक्षक श्रेष्ठले प्रतियोगितामा टोलीले खेल्ने योजनाबारे समेत जानकारी गराएका छन्। उनले रक्षात्मक खेल्दै काउन्टरमा जाने योजना रहेको बताएका छन् ।
‘हाम्रो योजना ४–३–२–१ संरचनामा खेल्नेछौँ। बल पाएका बेला आक्रमण गर्ने, नभए अनुशासित भएर रक्षात्मक खेल्ने। दुवै रणनीतिमा सम्हालिएर खेल्नेछौँ, हतार गर्ने छैनौँ,’ उनले भने, ‘सुरुआती समयमा विपक्षीको खेल पनि बुझ्नु पर्छ। त्यसकारण हतार नगरी खेल्ने योजना हो। उनीहरु पनि सुरुमा त हामीलाई बुझ्ने कोसिस गर्लान्।त्यसकारण सुरुबाटै प्रेसिङ गेम नहुन सक्छ।’
श्रेष्ठले नेपाली टोलीका लागि मुख्य तगारो थाइल्याण्ड भएको बताएका छन्। थाइ टोलीविरुद्धको खेलपछि अन्य खेलका लागि रणनीति बन्ने उनले बताए । ‘थाइल्यान्ड पहिलो तगारो हो। थाइ टिमविरुद्ध हाम्रो रणनीति कत्तिको सफल हुन्छ, दोस्रो खेलमा भियनाम र चाइनिज ताइपेइबीचको खेल कस्तो हुन्छ, यी सबै कुरालाई विश्लेषण गरी बाँकी दुई खेलका लागि रणनीति बनाउने छौँ,’ श्रेष्ठले भने। नेपालले दोस्रो म्याचमा ७ अक्टोबरमा भियतनाम र ९ मा चाइनिज ताइपेइको सामना गर्नेछ।
नेपाली टिम : गोलकिपर : समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान । डिफेन्डर : मदन पौडेल, युनिस मगर, दिपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, अश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा ।
मिडफिल्डर : हरिष राज भट्ट, प्रशान्त लक्षम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिके । फरवार्ड : सुबास बम, श्रृजल राई।