वेस्ट इन्डिजका स्टार ब्याटर शिमरोन हेटमायरले आसन्न आईसीसी टी–२० विश्वकप गुमाउने भएका छन्। उनले अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप गुमाउने भएका हुन्। क्रिकेट वेस्ट इन्डिज (सीडब्लुआई) ले सोमबार आईसीसीलाई हिटमायर विश्वकपमा उपलब्ध नहुने जानकारी गराएको छ।
हिटमायरको स्थानमा ३४ वर्षीय शम्राह ब्रुक्सलाई विश्वकप खेल्ने टोलीमा समावेश गरिएको छ। उनले हालै सकिएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा शानदार प्रदर्शन गरेका थिए। ब्रुक्सले ११ टी–२० आई खेलमा २ सय १४ रन बनाएका छन्। ब्रुक्सले जमैका तलवाजबाट सीपीएल खेलेका थिए।
उनले जमैकालाई उपाधि दिलाउनमा महत्वपूर्ण भूमिका निभाएका थिए। गुयाना एमेजन वारियर्सविरुद्ध ब्रुक्सले ५२ बलमा ७ चौका र ८ छक्काको मद्दतमा१ सय ९ रनको शतकीय पारी खेलेका थिए। उनले फाइनलमा पनि ४७ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए।
१०औँ संस्करणको सीपीएलमा हेटमायरको प्रदर्शन औसत थियो। गयाना अमेजन वारियर्सको कप्तानीसमेत रहेका उनले ११ खेलमा २ सय ८१ रन मात्रै बनाएका थिए। हिटमायरले अष्ट्रेलियाका लागि आफ्नो उडान छुटाएका थिए।
पारिवारिक कारण उनको उडान दुई दिन पर सारिएको थियो । तर, उडानको बिहान हिटमायरले वेस्ट इन्डिजका क्रिकेट निर्देशक जिम्मी एडम्सलाई आफू समयमै विमानस्थल पुग्न नसक्ने जानकारी दिएका थिए। एडम्सले भने, ‘उनलाई यो स्पष्ट पारिएको थियो कि यदि उनको अष्ट्रेलिया यात्रामा थप ढिलाइ र समस्याहरू छन्। हामीसँग उनलाई टोलीमा प्रतिस्थापन गर्नुको विकल्प छैन। किनकि हामी यस अत्यन्त महत्वपूर्ण प्रतियोगिताको तयारीको लागि टोलीको क्षमतामा सम्झौता गर्न तयार छैनौं।’
हेटमायरले वेष्ट इण्डिजका लागि ५० टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन्। जसमा उनले ४ अर्धशतकसहित कूल ७ सय ७९ रन बनाएका छन्। वेष्ट इन्डिजले बुधबार र शुक्रबार अष्ट्रेलियासँग दुई टी–२० आई खेलको सिरिज खेल्दैछ। यसका साथै उसले यूएई र नेदरल्याण्ड्ससँग वार्मअप खेल पनि खेल्ने तालिका छ।
१७ अक्टोबरमा स्कटल्याण्डसँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ। वेस्ट इण्डिज टिमको कप्तानी निकोलस पूरनले गर्दैछन्। वेस्ट इण्डिज टी–२० विश्वकपको सफल टिम हो। उसले सन् २०१२ र २०१६ मा टी–२० विश्वकपको उपाधि उचालेको थियो। टी–२० विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ।