खेल जीवनबाट संन्यास लिँदै यी अर्जेन्टिनी स्टार

काठमाडौं।

अर्जेन्टिनाका चर्चित फरवार्डले व्यवसायिक खेल जीवनबाट संन्यास लिने घोषणा गरेका छन्। अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका फरवार्डसमेत रहेका गोन्जालो हिगुईनले फुटबलबाट संन्यास घोषणा गरेका हुन्।

हिगुईनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरे। हिगुईनेले २०२२ को सिजनको अन्त्यपछि सन्यास लिने घोषणा गरेको मियामीले जनाएको छ।अर्जेन्टिनाका हिगुईन इटालियन क्लब युभेन्ट्सबाट २०२० मा मियामी आएका थिए।

३४ वर्षीय हिगुईनले चार सिजन युभेन्ट्समा बिताएर मियामी आएका थिए। सन् २०१६ मा नापोलीबाट युभेन्ट्स आएका उनले १ सय ४९ खेलमा ६६ गोल गरेका थिए।

रियल मड्रिडका पूर्व खेलाडी समेत रहेका हिगुईनले युभेन्ट्सबाट ३ सिजन सिरी ए र दुई पटक कोपा इटालिया जितेका थिए। रियल लागि उनले ला लिगा र कोपा डेल रे उपाधि जितेका थिए।

हिगुईनले चेल्सीका लागि समेत खेलेका थिए। हिगुईनले क्लब फुटबलमा ७ सय बढी खेल खेल्दै ३ सय बढी गोल र १ सय बढी असिस्ट गरेका छन्।अर्जेन्टिनाका लागि ७५ खेलमा ३१ गोल गरेका थिए। उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट भने सन् २०१८ मै संन्यास लिएका थिए।

विदेशी लिगमा मौका पाउँदै अन्जन, सम्भावित मूल्य नै करोडौं रुपैयाँ

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड तथा स्ट्राइर अञ्जन विष्टले अब अन्तर्राष्ट्रिय क्लब फुटबल खेल्ने भएका छन् । बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कीर्तिमानी ह्याट्रिकपछि थप चर्चा कमाएका उनले रुइज एण्ड गोमेज नामक एक फुटबल एजेन्सीले अन्तर्राष्ट्रिय लिग फुटबलका लागि क्लब खोजिदिन सहकार्य गर्ने भएको हो ।

अञ्जनलाई क्लब खोजिदिने रुइज एण्ड गोमेज विशेषगरी दक्षिण पूर्वएसियाली मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, सिङ्गापुर, म्यानमार, कम्बोडियालगायत देशको क्लबमा खेलाडीहरूको सम्झौता गराउन सफल भएको छ । एउटा खेलाडी अन्तर्राष्ट्रिय फुटबलमा कुनै क्लबसँग आवद्ध हुन एजेन्टको खाँचो पर्दछ । कुनै एजेन्टमा आफ्नो नाम दर्ता भएसँगै उसले नै क्लबहरू खोजिदिने, कन्ट्रयाक्ट डकुमेन्टदेखि खेलाडीको मूल्यसमेत मिलाइदिने काम गर्दछ । अञ्जनका लागि रुइज एण्ड गोमेजले मलेसिया, थाइल्याण्ड र इन्डोनेसियाका क्लबहरू खोजिरहेको बुझिएको छ ।

यद्यपि ती देशका कुन डिभिजनको क्लबसँग रुइज एण्ड गोमेजले वार्ता गरिरहेको छ त्यो भने अञ्जनलाई क्लबले सम्झौता गरेपछि मात्रै आगामी ट्रान्सफर विन्डोमा थाहा हुनेछ । ट्रान्सफर मार्केटमा उल्लेखित विवरणअनुसार हाल अन्तर्राष्ट्रिय बजारमा अञ्जनको मूल्य १ करोड ३० लाख नेपाली रुपैयाँ छ । यस्तोमा उनलाई दक्षिण पूर्वी एसियाली क्लबले अनुबन्ध गर्न सक्छन् । क्लबहरूले अञ्जनलाई १ करोड ३० लाख वा सोभन्दा बढी मूल्यमा पनि अनुबन्ध गर्ने सम्भावना छ ।

नेपाली राष्ट्रिय टिममा आठ वर्ष बिताइसकेका उनी वर्तमान टोलीका सर्वाधिक गोलकर्ता हुन् । बंगलादेशसँगको खेलमा ह्याट्रिक गर्दै उनले टोलीभित्रका आफ्नै समकालिन फरवार्ड विमल घर्ती मगरको ९ गोलको कीर्तिमान तोडेका छन् । राष्ट्रिय टोलीबाट ५० अन्तर्राष्ट्रिय खेल खेलिसकेका अञ्जनले सन् २०१९ मा भएको विश्वकप तथा एसियन कपको संयुक्त छनोटताका चाइनिज टाइपेईविरुद्धको खेलमा २ गोल गर्दै खाता खोलेका थिए । त्यसयता उनीबाट आएका सबै १० गोल तीन वर्षको अवधिमा भएका हुन् ।

राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा समान १३/१३ गोलसहित शीर्ष स्थानमा रहेका हरि खड्का र निराजन रायमाझीको रेकर्ड तोड्न अञ्जन अब केवल ३ गोल मात्रै पछाडि छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उनले मनाङ मर्स्याङ्दी र नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीको कप्तानी गरिसकेका छन् । अहिले किरण चेम्जोङ, रोहित चन्द, मनिष डाँगीलगायत नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्लब फुटबलमा आफ्नो उपस्थिति देखाइरहेका छन् ।

घरेलु तथा अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीका निमित्त अझै राम्रो प्रदर्शन देखाउने हो भने भोलिका दिनमा स्टार खेलाडी विमल घर्ती मगर, डिफेन्डर अनन्त तामाङ, यू–२० टोलीका कप्तान आयुष घलानलगायत युवा खेलाडीले पनि विदेशी क्लबबाट खेल्न दिने टाढा छैन । तर, यसका लागि भने सम्बन्धित फुटबल निकाय र सरकारले समेत घरेलु तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधिलाई जोड दिनुपर्छ।

Leave A Reply

Your email address will not be published.