काठमाडौं।
एएफसी यू-१९ एसियन कप छनोटको पहिलो खेलमा नेपालले भोलि बुधबार थाइल्याण्डको सामना गर्दैछ। भियतनामको फु थो स्टेडियममा नेपालले बलियो टोली थाइल्याण्डको सामना गर्नेछ।
खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। थाइल्याण्डविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको योजनामा रहेको छ । नेपाल पहिलो खेलमै थाइल्याण्डलाई हराउन चाहन्छ।
नेपालसँग खेल्नुअघि थाइल्याण्डका मुख्य प्रशिक्षक पिपोब अनमोले प्रतिक्रिया दिएका छन्। मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा उनले समूहका सबै टिम बलिया रहेको र उनीहरुको सामना गर्न टिम तयार रहेको बताएका हुन्। ‘हाम्रो तयारी राम्रो छ। नेपालको सामना गर्न हामी तयार छौँ,’ उनले भने, ‘नेपाल सजिलो विपक्षी होइन। नेपाली खेलाडीहरु प्राविधिक रुपमा कुशल छन्।’
यस्तै, नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध जितकै लागि खेल्ने बताएका छन्। ‘यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ। हामी सबै विपक्षी टिमलाई सम्मान गछौँ। कुनै पनि खेल सजिलो हुनेछैन। यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने हो,’ मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा श्रेष्ठले भने, ‘थाइल्याण्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ।’
छनोटका लागि नेपाली टोली सोमबार भियतनाम पुगेको थियो। छनोटमा नेपाल समूह एफमा रहेको छ। यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन्। नेपाली टोलीका कप्तान प्रशान्त लक्समले सबै खेलमा शतप्रतिशत मेहेनेत गरेर खेल्ने बताए । ‘सबै खेलमा शतप्रतिशत मेहेनत गर्नेछौँ। सबै खेलमा संयमता अपनाउनेछौँ,’ प्रशान्तले भने। छनोटअन्तर्गत नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ।
दसैँको टीका छाडेर अष्ट्रेलिया पलायन भए थप यी ३ खेलाडी
नेपालका राष्ट्रिय फुटबलरका लागि पछिल्लो समय अस्ट्रेलिया आकर्षक गन्तव्य बनिरहेको छ। नेपाल सुपर लिग अनिश्चित बन्दै गएपछि राष्ट्रिय फुटबल टिमबाट खेलेका खेलाडी समेत पछिल्लो समय अस्ट्रेलियाको स्थानीय टिमबाट खेल्न त्यसतर्फ गइरहेका छन्।
यसैक्रममा नेपालका तीन फुटबल खेलाडी सुरक्षित भविष्यको खोजीमा विदेशिएका छन्। राष्ट्रिय टोलीबाट खेलिसकेका डिफेन्डर शिव गुरुङ, आकाश बुढामगर र यू–२३ टोलीका फरवार्ड रेजिन सुब्बा अष्ट्रेलिया प्रस्थान गरेका छन्। नेपालमा फुटबल गतिविधि अनिश्चित बनिरहेको बेला थप तीन खेलाडी विदेशिएका हुन्। दसैँको टीका छाडेर उनी अष्टेलिया गएका हुन्।
पछिल्लो समय नेपालका फुटबलरहरु अष्ट्रेलिया पलायनको लर्को नै लागेको छ। गत महिना ६ जना फुटबल खेलाडी अस्ट्रेलियाको मेलवर्न पुगेका थिए। राष्ट्रिय टिमबाट खेलिसकेका राजन गुरुङ, मिक्चेन तामाङ, अमिर श्रेष्ठसहित रवी थिङ, रुमेश बर्तौला र रोहित कार्की अस्ट्रेलिया गएका थिए। उनीहरूलाई मेलवर्नको स्थानीय नेपाली क्लब रोयल वेस्टर्नस्ले स्वागत गरेको थियो। क्लबले त्यहाँको स्थानीय लिग सिलिकन स्ट्याक प्रिमियर लिग २०२२ खेलेको थियो। लिगमा १० क्लबबीच प्रतिस्पर्धा भएकोमा रोयल २१ अंकसहित छैटौं भएको थियो।
यस्तै क्लबले आगामी महिना एक्स्पर्ट कप २०२२ आयोजना गर्दैछ। गत साउनमा एन्फा एकेडेमीका उत्पादन हेमन्त थापा मगर फुटबलमा भविष्य खोज्दै अस्ट्रेलिया गएका थिए। २४ वर्षीय हेमन्तले सन् २०१६ मा भारतविरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
पछिल्लो समय उनले बन्द प्रशिक्षणमा स्थान बनाए पनि राष्ट्रिय टिममा स्थान बनाउन भने सकिरहेका थिएनन्। नेपालका सबै उमेर समूहबाट खेलेका हेमन्तले सन् २०७२ मा काठमाडौंमा भएको साफ यू-१८ च्याम्पियनसिप जित्दा खेलेका थिए।
साउनमै विमल राना अस्ट्रेलिया पुगेका थिए। फरवार्ड रानाले गत सिजन मनाङबाट लिग खेलेका थिए। गत असारमा फरवार्ड दर्शन गुरुङ, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर नवीन गुरुङ अस्ट्रेलियाको मेलवर्न पुगेका थिए। तीनै जना मेलवर्नको युनाइटेड एफसीमा आबद्ध भएर एमसीएसए प्रिमियर लिग २०२२ खेलेका थिए। पछिल्लो समय नेपाली फुटबलर भविष्य खोज्दै अस्ट्रेलिया जाने क्रम बढेको छ।
यो वर्ष मात्रै राष्ट्रिय टिमबाट खेलेका एक दर्जन खेलाडी अस्ट्रेलिया गइसकेका छन्। यसअघि सुमन लामा र आसिष लामा पनि अस्ट्रेलिया पुगेका थिए। त्यहाँको स्थानीय टिमबाट फुटबल खेलिरहेका सुमन र आसिष अघिल्लो वर्षसम्म राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडी थिए। तीन वर्षअघि मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एनल न्यौपाने अस्ट्रेलिया गएका थिए। यस्तै जगजित श्रेष्ठ, विवेकप्रताप पन्त र विमल बस्नेत पनि अस्ट्रेलियामा स्थानीय टिमबाट खेलिरहेका छन्।