आज नेपाल र थाइल्याण्डको म्याच यसरी हेर्न सकिनेछ ‘लाइभ’

काठमाडौं।

एएफसी यू–१७ एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो पहिलो म्याच आज बुधबार थाइल्याण्डसँग खेल्दैछ। नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि सुरु हुनेछ।

नेपाल थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्न चाहन्छ। थाइल्याण्ड पनि नेपाललाई हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ। नेपालाई बलियो टिम थाइल्याण्डमाथि जित निकाल्न त्यति सहज भने पक्कै पनि हुनेछैन।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध जितकै लागि खेल्ने बताएका छन्। ‘यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ। हामी सबै विपक्षी टिमलाई सम्मान गछौँ। कुनै पनि खेल सजिलो हुनेछैन। यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने हो,’ मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा श्रेष्ठले भने, ‘थाइल्याण्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ।’

छनोटका लागि नेपाली टोली सोमबार भियतनाम पुगेको थियो। छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ। यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन्। नेपाली टोलीका कप्तान प्रशान्त लक्समले सबै खेलमा शतप्रतिशत मिहेनेत गरेर खेल्ने बताए। ‘सबै खेलमा शतप्रतिशत मेहेनत गर्नेछौँ। सबै खेलमा संयमता अपनाउनेछौँ,’ प्रशान्तले भने।

थाइल्याण्डका मुख्य प्रशिक्षक पिपोब अनमोले समूहका सबै टिम बलिया रहेको र उनीहरुको सामना गर्न टिम तयार रहेको बताए। ‘हाम्रो तयारी राम्रो छ। नेपालको सामना गर्न हामी तयार छौँ। नेपाल सजिलो विपक्षी होइन। नेपाली खेलाडीहरु प्राविधिक रुपमा कुशल छन्,’ उनले भने।

नेपाल र थाइल्याण्डले पछिल्लो समय सन् २०१४ मा एकअर्काविरुद्ध खेलेका थिए। उक्त मैत्रीपूर्ण खेल ३–३ को बराबरीमा सकिएको थियो। छनोटअन्तर्गत नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ। नेपालले खेल्ने सबै म्याचको लाइभ भियतनाम फुटबलको आधिकारी युट्युब VFF Channel बाट हेर्न सकिनेछ।

Leave A Reply

Your email address will not be published.