काठमाडौं।
टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत घरेलु टोली भारतसँगको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका ४९ रनले विजयी भएको छ। इन्दोरस्थित होल्कर क्रिकेट स्टेडियममा मंगलबार राति दक्षिण अफ्रिकाले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १८.३ ओभरमा सबै विकेट विकेट गुमाएर १ सय ७८ रन बनायो।
उसका लागि दिनेश कार्तिकले सर्वाधिक रन बनाए। कार्तिकले २१ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ४५ रन बनाएका हुन्। यस्तै, दिपक चाहरले ३१, ऋषभ पन्तले २७, उमेश यादवले अविजित २०, हर्षल पटेलले १७ रन बनाए। यसैगरी अक्षर पटेल ९, सूर्यकुमार यादव ८, मोहम्मद सिराज ५, श्रेयस अय्यर १ र कप्तान रोहित शर्मा शून्य रनमा आउट भए।
दक्षिण अफ्रिकाका लागि ड्वेन प्रिटोरियसले शानदार बलिङ गरे। उनले ३.३ ओभरमा २६ रन दिँदै सर्वाधिक ३ विकेट लिए। यस्तै, केशव महाराज, वेन पार्नेल र लुङ्गी एन्गिडी २–२ तथा कागिसो रबाडाले १ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो। उसका लागि रिली रोसोउले शतकीय पारी खेले। उनले ४८ बलमा ७ चौका र ८ छक्काको मद्दतमा अविजित १०० रनको योगदान दिए।
उनको यो पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक हो। सन् २०१६ पछि यसै वर्ष राष्ट्रिय टोलीमा फर्किएका रोसोउ सिरिजका सुरुवाती दुई खेलमा भने डक आउट भएका थिए। यसअघि यस ढाँचामा उनको उच्च स्कोर नटआउट ९६ रन थियो।
यस्तै, क्विन्टन डीककले ४३ बलमा ६ चौका र ४ चौकासहित ६८ रन जोड्दा ट्रिस्टन स्टब्सले १८ बलमा २ चौका र १ छक्काको मद्दतमा २९ रन बनाए। डेविड मिलरले मात्र ५ बलमा ३ छक्काको सहयोगमा नटआउट १८ रनको आक्रामक पारी खेले। भारतका लागि उमेश यादव र दिपक चाहरले १–१ विकेट लिए।
यस जितसँगै तीन म्याचको सिरिज दक्षिण अफ्रिकाले २–१ ले अन्त्य गरेको छ। पहिलो खेलमा ८ विकेटले विजयी भएको भारतले दोस्रो म्याचमा १६ रनको जित हात पारेको थियो। अब भारत र दक्षिण अफ्रिकाले एकदिसीय सिरिज खेल्नेछन्।
अब भारत र दक्षिण अफ्रिकाले एकदिसीय सिरिज खेल्नेछन्। यी दुई देशबीचको पहिलो एकदिवसीय अक्टोबर ६ मा लखनउमा हुनेछ। दोस्रो एकदिवसीय राँचीमा ९ अक्टोबरमा हुनेछ। तेस्रो एकदिवसीय म्याच नयाँ दिल्लीमा ११ अक्टोबरमा खेलिनेछ।
एकदिवसीय सिरिजका लागि भारतले कप्तान शिखर धवनको कप्तानी टिमसमेत घोषणा गरिसकेको छ। दक्षिण अफ्रिकासँग खेल्ने भारतीय एकदिवसीय टिममा शिखर धवन (कप्तान), श्रेयस अय्यर (उपकप्तान), रुतुराज गायकवाड, शुभमन गिल, रजत पाटिदार, राहुल त्रिपाठी, इशान किशन (विकेटकिपर), सञ्जु सामसन (विकेटकिपर), शाहबाज अहमद, शार्दुल ठाकुर, कुलदीप यादव, रवि बिश्नोई, मुकेश कुमार, आवेश खान, मोहम्मद सिराज र दीपक चाहर छन्।