नेपाललाई आज इतिहास रच्ने सुनौलो मौका, यस्तो छ रणनीति

काठमाडौं।

एएफसी यू-१९ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज बुधबार थाइल्याण्डको सामना गर्दैछ।

भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा नेपालले बलियो टोली थाइल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ४ बजे सुरु हुनेछ ।

थाइल्याण्डविरुद्ध नेपाल जित निकाल्दै सुखद सुरुआतको योजनामा रहेको छ । नेपाल पहिलो खेलमै थाइल्याण्डलाई हराउन चाहन्छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध जितकै लागि खेल्ने बताइसकेका छन् । ‘यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ। हामी सबै विपक्षी टिमलाई सम्मान गछौँ। कुनै पनि खेल सजिलो हुनेछैन। यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने हो,’ मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा श्रेष्ठले भनेका थिए, ‘थाइल्याण्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ।’

छनोटका लागि नेपाली टोली सोमबार भियतनाम पुगेको थियो। छनोटमा नेपाल समूह एफमा रहेको छ । यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।

नेपाली टोलीका कप्तान प्रशान्त लक्समले सबै खेलमा शतप्रतिशत मेहेनेत गरेर खेल्ने बताएका थिए । ‘सबै खेलमा शतप्रतिशत मेहेनत गर्नेछौँ। सबै खेलमा संयमता अपनाउनेछौँ,’ प्रशान्तले भनेका थिए ।

छनोट अन्तर्गत नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।

नेपाललाई इतिहास रच्ने मौका

नेपाली टिमलाई आज इतिहास रच्ने सुनौलो मौका छ। नेपालले अहिलेसम्म थाइल्याण्डलाई हराउन सकेको छैन। यदि आज थाइल्याण्डमाथि जित निकालेको खण्डमा नेपालले इतिहास रच्ने छ।

नेपाल र थाइल्याण्डले पछिल्लो समय सन् २०१४ मा एकअर्काविरुद्ध खेलेका थिए। उक्त मैत्रीपूर्ण खेल ३–३ को बराबरीमा सकिएको थियो।

Leave A Reply

Your email address will not be published.