काठमाडौं।
इंग्ल्यान्डका स्टार अलराउण्डर बेन स्टोक्सले टी–२० विश्वकप क्रिकेटमा ४ नम्बरमा ब्याटिङ गर्ने भएका छन्। इंग्ल्यान्डको टेस्ट टिमको कप्तानसमेत रहेका स्टोक्सले अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा ४ नम्बरमा ब्याटिङ गर्ने भएका हुन्।
स्टोक्सले टी–२० अन्तर्राष्ट्रियमा तीन पटक मात्र ५ नम्बरभन्दा माथि ब्याटिङ गरेका छन्। टेस्टमा व्यस्त स्टोक्सले २०२१ पछि टी–२० अन्तर्राष्ट्रियसमेत खेलेका छैनन्। टी–२० विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ।
इंग्ल्यान्ड अघिल्लो संस्करणमा न्यूजिल्याण्डसँग ५ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो। इंग्ल्यान्डले अफगानिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।
स्टोक्सले इंग्ल्यान्डका लागि ३४ टी–२० आई म्याच खेलेका छन्। जसमा उनले ४ सय ४२ रन बनाएका छन्। उनको टी–२० आईमा उच्च स्कोर अविजित ४७ रन रहेको छ। यसका साथै उनले टी–२० आईमा १९ विकेट पनि लिइसकेका छन्। उनले एकदिवसीय क्रिकेटबाट भने यहीँ वर्ष संन्यास लिएका थिए।