थाइल्याण्डविरुद्ध पहिलो हाफमा नेपाल पछाडि

काठमाडौं ।

एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले अहिले थाइल्याण्डको सामना गरिरहेको छ। भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ ।

पहिलो हाफको खेल सकिदा थाइल्याण्डले १-० गोलको अग्रता बनाएको छ । खेलको ३० औं मिनेटमा तोन्तावानीले गोल गर्दै थाइल्याण्डलाई अग्रता दिलाएका हुन् ।

थाइल्याण्डविरुद्ध नेपाल जित निकाल्दै सुखद सुरुआतको योजनामा रहेको छ । नेपाल पहिलो खेलमै थाइल्याण्डलाई हराउन चाहन्छ ।  छनोटमा नेपाल समूह एफमा रहेको छ । यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।

छनोट अन्तर्गत नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ।

नेपाली टिमलाई आज इतिहास रच्ने सुनौलो मौका छ। नेपालले अहिलेसम्म थाइल्याण्डलाई हराउन सकेको छैन। यदि आज थाइल्याण्डमाथि जित निकालेको खण्डमा नेपालले इतिहास रच्ने छ। नेपाल र थाइल्याण्डले पछिल्लो समय सन् २०१४ मा एकअर्काविरुद्ध खेलेका थिए। उक्त मैत्रीपूर्ण खेल ३–३ को बराबरीमा सकिएको थियो।

Leave A Reply

Your email address will not be published.