काठमाडौं।
बंगलादेशमा जारी महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तानमाथि थाइल्याण्डले ऐतिहासिक जित निकालेको छ। बंगलादेशको सिलहटमा बिहीबार भएको खेलमा थाइल्याण्डले पाकिस्तानविरुद्ध ४ विकेटको जित हात पारेको हो। यससँगै थाइल्याण्डले नयाँ कीर्तिमान बनाएको छ।
थाइल्याण्डले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक पाकिस्तानलाई हराएको होे। पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य थाइल्याण्डले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।
उसका लागि नाथकन चन्थमले शानदार ब्याटिङ गरिन्। उनले ५१ बलमा ५ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६१ रनको योगदान दिइन्। यस्तै, कप्तान नरुमोल चवाईले १७ र नन्नापट कोंचारोएनकाईले १३ रन बनाइन्।
थाइल्याण्डलाई जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो। पाकिस्तानकी डायना बेगले अन्तिम ओभरको पहिलो बल वाइड फालिन्। दोस्रो बलमा रोजनन कनोहले चौका हिर्काइन्। तेस्रो बलमा उनले दुई रन जोडिन्। चौथो बलमा एक रन ल्याउँदै म्याच बराबरीमा पु¥याइन्। त्यसपछि पाँचौं बलमा नटय बुचथमले एक रन लिँदै थाइल्याण्डलाई ऐतिहासिक जित दिलाइन्। कनोह ९ र बुचथम ३ रनमा अविजित रहिन्।
पाकिस्तानका लागि निदा डार र तुबा हसनले २–२ तथा कैनत इम्तियाज र नाशरा सन्धुले १–१ विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १६ रन बनाएको थियो।
पाकिस्तानका लागि सिद्रा आमिनले अर्धशतकीय पारी खेलिन्। उनले ६४ बलमा ६ चौकाको मद्दतमा सर्वाधिक ५६ रन जोडिन्। यस्तै, मुनीबा अलीले १५, निदा डारले १२ र आलिया रियाजले अविजित १० रनको योगदान दिइन्। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
बलिङमा सोर्नारिन टिप्पोचले २ र थिपाच्चा पुथावाङले १ विकेट हात पारिन्। थाइल्याण्डलाई दुई विकेट रन आउटको रूपमा मिल्यो। जारी प्रतियोगितामा थाइल्याण्डको यो पहिलो जितसमेत हो। थाइल्याण्ड अंक तालिकाको पाँचौं स्थानमा रहेको छ।
तीन म्याच खेलेको पाकिस्तानको यो पहिलो हार हो। पाकिस्तान अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। अंक तालिकाको शीर्ष स्थानमा भारत छ। भारतले तीनै म्याच जित्दै ६ अंक जोडेको छ। प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ।