काठमाडौं।
नेपाली राष्ट्रिय फुटबल टिमको फिफा वरियता सुधार भएको छ। फिफाको पछिल्लो विश्व वरियतामा नेपाली राष्ट्रिय टोली एक स्थान माथि उक्लिएको छ। नेपाल अघिल्लो वरियताको १ सय ७६ बाट एक स्थान माथि उक्लँदै १ सय ७५औँ स्थानमा पुगेको छ।
असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएपछि वरियता सुधार भएको हो। नेपालको जितमा अन्जन विष्ट नायक बनेका थिए। उनले ह्याट्रिक गरेका थिए।
बंगलादेशका सजाद होसेनले एक गोल फर्काएका थिए। अन्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बने। राष्ट्रिय टोलीका लागि अन्जनको यो १० औं गोल समेत हो। यस अघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्।
दक्षिण एसियाली टोलीमध्ये भारत दुई स्थान तल झर्दै १०६ अंकमा शीर्ष स्थानमा छ। माल्दिभ्स १५४औँ, भुटान १८५औँ, बंगलादेश १९२औँ, पाकिस्तान १९४औँ र श्रीलंका २०७औँ स्थानमा छन्। इरान २०औं स्थानमा, जापान २४औँ र कोरियाली गणतन्त्र २८औँ स्थानमा रहेको छ।
ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा छ। बेल्जियम दोस्रो, अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो, इंग्ल्याण्ड पाँचौं, इटाली छैटौं, स्पेन सातौं, नेदरल्याण्ड्स आठौं, पोर्चुगल नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन्।
पाकिस्तानमाथि थाइल्याण्डको रोमाञ्चक जित, बनायो नयाँ कीर्तिमान
बंगलादेशमा जारी महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तानमाथि थाइल्याण्डले ऐतिहासिक जित निकालेको छ। बंगलादेशको सिलहटमा बिहीबार भएको खेलमा थाइल्याण्डले पाकिस्तानविरुद्ध ४ विकेटको जित हात पारेको हो। यससँगै थाइल्याण्डले नयाँ कीर्तिमान बनाएको छ।
थाइल्याण्डले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक पाकिस्तानलाई हराएको होे। पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य थाइल्याण्डले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।
उसका लागि नाथकन चन्थमले शानदार ब्याटिङ गरिन्। उनले ५१ बलमा ५ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६१ रनको योगदान दिइन्। यस्तै, कप्तान नरुमोल चवाईले १७ र नन्नापट कोंचारोएनकाईले १३ रन बनाइन्।
थाइल्याण्डलाई जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो। पाकिस्तानकी डायना बेगले अन्तिम ओभरको पहिलो बल वाइड फालिन्। दोस्रो बलमा रोजनन कनोहले चौका हिर्काइन्। तेस्रो बलमा उनले दुई रन जोडिन्। चौथो बलमा एक रन ल्याउँदै म्याच बराबरीमा पु¥याइन्। त्यसपछि पाँचौं बलमा नटय बुचथमले एक रन लिँदै थाइल्याण्डलाई ऐतिहासिक जित दिलाइन्। कनोह ९ र बुचथम ३ रनमा अविजित रहिन्।
पाकिस्तानका लागि निदा डार र तुबा हसनले २–२ तथा कैनत इम्तियाज र नाशरा सन्धुले १–१ विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १६ रन बनाएको थियो।
पाकिस्तानका लागि सिद्रा आमिनले अर्धशतकीय पारी खेलिन्। उनले ६४ बलमा ६ चौकाको मद्दतमा सर्वाधिक ५६ रन जोडिन्। यस्तै, मुनीबा अलीले १५, निदा डारले १२ र आलिया रियाजले अविजित १० रनको योगदान दिइन्। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
बलिङमा सोर्नारिन टिप्पोचले २ र थिपाच्चा पुथावाङले १ विकेट हात पारिन्। थाइल्याण्डलाई दुई विकेट रन आउटको रूपमा मिल्यो। जारी प्रतियोगितामा थाइल्याण्डको यो पहिलो जितसमेत हो। थाइल्याण्ड अंक तालिकाको पाँचौं स्थानमा रहेको छ। तीन म्याच खेलेको पाकिस्तानको यो पहिलो हार हो। पाकिस्तान अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। अंक तालिकाको शीर्ष स्थानमा भारत छ। भारतले तीनै म्याच जित्दै ६ अंक जोडेको छ। प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ।