काठमाडौं ।
एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली भारतविरुद्ध दक्षिण अफ्रिका ९ रनले विजयी भएको छ। बिहीबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको भारतले पूरै ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रन मात्र बनाउन सक्यो।
उसका लागि सञ्जु सामसन र श्रेयस अय्यरले शानदार पारी खेले। तर, टोलीलाई जित दिलाउन भने सकेनन्। सामसनले ६३ बलमा ९ चौका र तीन छक्काको मद्दतमा अविजित ८६ रन बनाए। त्यस्तै, अय्यरले ३७ बलमा ८ चौकासहित ५० रनको योगदान दिए।
यसैगरी शार्दुल ठाकुर ३३, इशान किशन २० र ऋतुराज गायकवाड १९ रनमा आउट भए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। दक्षिण अफ्रिकाका लागि लुंगि एन्गिडीले ३, कागिसो रबाडाले २, तरबिज शम्सी, केशव महाराज र वेन पार्नेलले १/१ विकेट लिए।
त्यसअघि लखनऊमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ४० ओभरमा ४ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो। वर्षाका कारण खेल ४० ओभरमा झारिएको हो। उसका लागि डेविड मिलर र हेनरिक क्लासेनले शानदार ब्याटिङ गरे।
मिलरले ६३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक अविजित ७५ रन जोडे। क्लासेनले ६५ बलमा ६ चौका र २ छक्कासहित नटआउट ७४ रनको योगदान दिए। पाँचौं विकेटका लागि दुवैले १ सय ३९ रनको अविजित साझेदारी गरे।
यस्तै, क्विन्टन डीककले ४८, जेनेमन मलानले २२ रन बनाउँदा टेम्बा बाभुमा ८ र एडेन मारक्रम शून्य रनमा आउट भए। भारतका लागि शार्दुल ठाकुरले २ तथा रवि बिश्नोई र कुलदीप यादवले १–१ विकेट लिए। यस जितसँगै पाहुना टोली दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ। तीन म्याचको टी–२० सिरिजपछि दुवै देशले तीनै खेलको एकदिवसीय सिरिज खेलिरहेका हुन्।
टी–२० सिरिज भारतले २–१ ले जितेको थियो। स्टार खेलाडीले भरिएको भारतीय टिम विश्वकपका लागि अष्ट्रेलिया गइसकेको छ। एकदिवसीय सिरिजमा शिखर धवनले भारतको कप्तानी गरिरहेका छन्। अब यी दुई देशबीचको दोस्रो एकदिवसीय म्याच आइतबार राँचीमा हुनेछ।