कोच श्रेष्ठले बताए भियतनामविरुद्ध नेपालको रणनीति

काठमाडौं।

भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज शुक्रबार दोस्रो खेल खेल्दैछ । नेपालले दोस्रो खेलमा आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ । भियतनामविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

जसका लागि नेपाली टोलीले रक्षात्मक खेल्दै काउन्टर अट्याकमा जोड दिनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घरेलु टोलीविरुद्ध रक्षापंक्तिमा ध्यान दिँदै काउन्टर अट्याकमा जाने रणनीति रहेको बताए । ‘भियतनाम बलियो टिम छ। तर यसको मतलब हामी कमजोर छौँ भन्ने होइन। जसरी हुन्छ भियतनामलाई रोक्ने हाम्रो योजना हो,’ श्रेष्ठले भने, ‘त्यसका लागि हामी रक्षापंक्तिलाई मजबुत बनाउने छौँ। अनि काउन्टर अट्याक गर्दै गोल निकाल्ने प्रयास गर्नेछौँ ।’

फु थोस्थित भियत त्रि स्टेडियममा बलियो टोली भियतनामविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन। तर, भियतनामको खेललाई अवरोध पुर्याउन नेपाली खेलाडीले अनुशासित भएर रक्षात्मक खेल्नुपर्ने मुख्य प्रशिक्षक श्रेष्ठले बताए। ‘हामी डिफेन्ड गर्दा समूहमा अट्याक गर्दा पनि समूहमै गर्छौं। व्यक्तिगत कौशलभन्दा सामूहिक प्रयासमा ध्यान दिने हाम्रो योजना हो। पहिलो खेलको दोस्रो हाफमा हाम्रो रक्षापंक्तिको संरचना केही बिग्रिएको थियो। आजको खेलमा टिमको रणनीतिक संरचना (ट्याक्टिकल सेप) नबिग्रियोस भनेर चनाखो रहनेछौँ,’ श्रेष्ठले थपे।

बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो। भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ । पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४–० ले हराएको थियो। नेपाली टिमका कप्तान प्रशान्त लक्समले अत्यधिक गर्मीको कारण पहिलो खेलमा सोचेअनुसार खेल्न नसकेको बताए। दोस्रो खेलमा भने सुधारिएको प्रदर्शन गर्ने उनले बताए।

‘मलाई लाग्छ थाइल्यान्डभन्दा बलियो टिम हो भियतनाम। भियतनामी खेलाडीहरुको पासिङ राम्रो छ। हामी सबैले आआफ्नो भूमिका शतप्रतिशत निभाए उनीहरुलाई रोक्न सकिन्छ। प्रशिक्षकको रणनीति पछ्याउँदै आफ्नो पोजिसन नछाडी खेलेमा सकारात्मक नतिजा निकाल्न सकिन्छ जस्तो लागेको छ,’ प्रशान्तले भने।

समूह ‘एफ’ मा रहेको नेपाल अंकविहीन रहदै तेस्रो स्थानमा रहेको छ । भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ। छनोट अन्तर्गत नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।

Leave A Reply

Your email address will not be published.