दोस्रो हारपछि खेलाडीसँग खुसी छैनन् कोच, दिए यस्तो प्रतिक्रिया

काठमाडौं ।

नेपाली यू-१७ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनामविरुद्धको खेलमा खेलाडीले पहिलो हाफमा धेरै गल्ती गरेको बताएका छन् । भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार व्यहोरेपछि प्रशिक्षक उर्जनले घरेलु टोलीविरुद्ध खेलाडीले धेरै गल्ती गरेको र खेल्न नसकेको बताए ।

फु थोस्थित भियत त्रि स्टेडियममा शुक्रबार भएको खेलमा नेपाल आयोजक भियतनामसँग ५-० गोल अन्तरले पराजित भएको थियो । ‘फेरि पनि गल्तीले हामीलाई महँगो परेको छ । हामीले पहिलो हाफमा धेरै गल्ती गर्यौं । यो हाम्रा खेलाडीहरूले भियतनामीलाई सहयोग गरेजस्तै थियो । हाम्रा खेलाडीले खेल्न सकेनन् । दबाब रोक्न सकेनन् । धेरै मिसपासहरू भयो,’ खेलपछि श्रेष्ठले भने ।

यस हारसँगै नेपालको यू-१७ एसियन कपमा छनोट हुने सम्भावना सकिएको छ । छनोटअन्तर्गत अब नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । प्रशिक्षक श्रेष्ठले भियतनाम बलियो टोली रहेको तर दोस्रो हाफमा सुधार गरेको बताए ।

‘भियतनाम धेरै बलियो टोली हो । तिनीहरूसँग राम्रो स्किल र पास थियो । तर, नेपाली खेलाडीले आत्मविश्वास गुमाए । दोस्रो हाफमा हामीले सुधार गर्‍यौं,’ उनले थपे । प्रशिक्षक श्रेष्ठले उचित तयारी र योजनाबिना ठुला टोलीसँग प्रतिस्पर्धा गर्न नसकिने बताए ।

‘मलाई लाग्छ कि हामीले उचित योजना र तयारी बिना त्यस्ता टोलीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनौं। यी टोलीहरू हामीभन्दा माथि छन् र साफ च्याम्पियनसिप टोलीहरू भन्दा पनि। यी टोली राम्रो तयारीपछि यहाँ आएका हुन्। यस्ता प्रतियोगितामा भाग लिनुअघि हामीले तयारीका बारेमा गहिरिएर सोच्नुपर्छ,’ प्रशिक्षक श्रेष्ठले भने।

वेस्ट इन्डिजविरुद्ध अष्ट्रेलियाको क्लिन स्विप

घरेलु टोली अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज क्लिन स्विप गरेको छ । ब्रिसबेनमा शुक्रबार भएको दोस्रो खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ३१ रनले हराएको हो । जितसँगै अष्ट्रेलियाले दुई खेलको सिरिज २-० ले जितेको छ ।

घरेलु टोलीले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि जोनसन चाल्सले २९ तथा अकिल होसेनले २५ रन बनाए ।

ब्राण्डन किंग्सले २३ तथा रोभमेन पावेलले १८ रन बनाए । जासन होल्डरले १६ तथा अल्जारी जोसेफले अविजित ११ रन बनाए । घरेलु टोलीका लागि मिचेल स्टार्कले ४ तथा प्याट कमिंसले २ विकेट लिए ।क्यामरन ग्रिन र एडम जाम्पाले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । घरेलु टोलीका लागि डेबिड वार्नरले अविजित ७५ रनको अर्धशतकीय ईनिङ खेले । टिम डेबिडले ४२ तथा स्टिभ स्मिथले १७ रन बनाए ।  म्याथ्यु वेडले १६ तथा आरोन फिन्चले १५ रन बनाए । वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले ३ तथा ओवेड म्याकोईले २ विकेट लिए । ओडेन स्मिथले १ विकेट लिए ।

Leave A Reply

Your email address will not be published.