न्यूजिल्याण्डले दिन सकेन बलियो लक्ष्य, हरिसको उत्कष्ट बलिङ

काठमाडौं।

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत घरेलु टोली न्यूजिल्याण्डले पाकिस्तानलाई १ सय ४८ रनको लक्ष्य दिएको छ। क्राइस्टचर्चमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा विकेट ८ गुमाएर १ सय ४७ रन बनायो।

उसका लागि डेभन कन्वेले सर्वाधिक रन बनाए। उनले ३५ बलमा २ चौका र २ छक्काको मद्दतमा ३६ रनको योगदान दिएका हुन्। यस्तै, मार्क चैपम्यानले ३२, कप्तान केन विलियम्सनले ३१, ग्लेन फिलिप्सले १८ र फिन एलनले १२ रन जोडे।

बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। पाकिस्तानका लागि हरिस रउफले शानदार बलिङ गरे। उनले ४ ओभरमा २८ रन खिर्चिएर महत्वपूर्ण ३ विकेट लिए। यस्तै, मोहम्मद नवाज र मोहम्मद वसीमले २–२ तथा शाहनवाज दहनीले १ विकेट हात पारे।

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा पाकिस्तान दोस्रो जित निकाल्न चाहन्छ। उसले पहिलो खेलमा बंगलादेशमाथि २१ रनको जित निकालेको थियो। न्यूजिल्याण्ड पाकिस्तानलाई हराउँदै सिरिजमा सुखद् सुरुवात गर्ने योजनामा छ।

सिरिजको तेस्रो खेलमा न्यूजिल्याण्ड र बंगलादेशबीच ९ अक्टोबरमा प्रतिस्पर्धा हुनेछ। चौथो म्याचमा न्यूजिल्याण्ड र पाकिस्तान ११ अक्टोबरमा खेल्नेछन्। सिरिजअन्तर्गतको पाँचौं खेलमा न्यूजिल्याण्ड र बंगलादेश १२ अक्टोबरमा भिड्नेछन्।

छैटौं म्याचमा पाकिस्तान र बंगलादेश १३ अक्टोबरमा खेल्नेछन्। सिरिजको शीर्ष स्थानमा रहने दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेल १४ अक्टोबरमा हुनेछ।

सबै म्याच नेपाली समयअनुसार बिहान ७ः४५ बजेदेखि न्यूजिल्याण्डको क्राइस्टचर्चमै हुनेछन्। अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–२० विश्वकपको तयारी स्वरूप यी तीन देशले यो त्रिदेशीय सिरिज खेल्ने लागेका हुन्। टी–२० विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुँदैछ।

Leave A Reply

Your email address will not be published.