प्रिमियर लिगमा आज पाँच रोमाञ्चक खेल, भिड्दैछन् यी १० टिम

काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार पाँच खेलहरु हुँदैछन् । प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम, लेस्टर सिटी लगायतका टोलीको खेल हुनेछ । साविक विजेता सिटीले घरेलु मैदानमा साउथह्याम्पटनको सामना गर्नेछ ।

सिटी र साउथह्याम्पटनबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ । सिटी घरेलु मैदानमा साउथह्याम्पटनलाई हराएर शीर्ष स्थान उक्लने योजनामा रहेको छ । सिटी २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस्तै चेल्सीले घरेलु मैदानमा उल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ । यसै समयमा हुने अन्य खेलमा लेस्टरले बर्नेमाउथ तथा न्युकासलले ब्रेन्टफोर्डको सामना गर्नेछ । प्रिमियर लिग अन्तर्गत नै टोटेनहमले ब्राइटनसँग खेल्नेछ । खेल राति १०:१५ बजे सुरु हुनेछ ।

पीजेसीएलमा कुशलको टिमको म्याच आज

पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आवद्ध ग्वादार शार्कले आज शनिबार पहिलो खेल खेल्दैछ । शार्कको पहिलो खेल रावलपिण्डी राईडर्ससँग नेपाली समयअनुसार अपराह्न ४:१५ मा रहेको छ ।

खेल पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा हुनेछ । पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो । यस लिगमा विश्वका यू-१९ टिमका खेलाडीले खेल्ने छन् । प्रतियोगितामा कुल १९ खेल हुनेछ ।

यस लिगको फाइनल खेल २१ अक्टोबरमा रहेको छ । १८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् । कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए । कुशल यस अघि यूएईमा आयोजना हुने टी-१० लिगमा समेत सहभागीता जनाइसकेका छन् ।

यसैबीच, सन् २०२४ मा आयोजना हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको छनोट खेल्ने सबै राष्ट्रको टुंगो लागेको छ। यू-१९ विश्वकप छनोटमा नेपालले समेत सहभागिता जनाउने छ । छनोटमा नेपालले डिभिजन टूबाट आएका २ टोलीसहित ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

डिभिजन टूमा बहराइन, भुटान, साउदी अरब, ओमान, कतार, हङकङ, सिङ्गापुर र थाईल्याण्ड रहेका थिए । यी आठ टिमबाट शीर्ष दुईमा रहेका सिङ्गापुर र हङकङ डिभिजन वानमा प्रवेश गरेका छन् । यी टिमले डिभिजन वानमा रहेका टिमसँग प्रतिस्पर्धा गर्नेछ । डिभिजन वानमा नेपाल, यूएई, मलेसिया र कुवेत रहेका छन् । यस डिभिजनबाट शीर्ष एक टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

आयोजनाको स्थल तय नभएको यस विश्वकपमा १६ मुलुकले सहभागीता जनाउने छन् । प्रतियोगितामा सहभागी १६ टिममध्ये ११ टिम छनोट भइसकेका छन् । बाँकी ५ टोली भने छनोटबाट आउने छन् । यसै वर्ष वेस्ट इन्डिजमा भएको यू-१९ विश्वकपमा शीर्ष ११ मा रहेका टिम आगामी विश्वकपका लागि सिधै छनोट भइसकेका छन् ।

छनोट हुने ११ मुलुकमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, इंग्ल्याण्ड, अस्ट्रेलिया, अफगानिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, आयरल्याण्ड र जिम्बावे रहेका छन् । ५ टोली भने एसिया, अफ्रिका, युरोप, अमेरिका र इस्ट एसिया प्यासिफिकबाट समान १/१ टिम रहनेछन् ।

नेपालले भने ६ टोली रहेको एसिया क्षेत्रको डिभिजन वान जित्नुपर्ने हुन्छ । यस डिभिजन वानमा ६ टोली रहने एसिया डिभिजन वान जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ । सन् २०१६ पछि नेपालले ३ संस्करणको विश्वकप खेलेको छैन। नेपालले हालसम्म ७ पटक विश्वकपमा सहभागिता जनाईसकेको छ ।

Leave A Reply

Your email address will not be published.