काठमाडौं।
पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल)मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आवद्ध ग्वादार शार्कले रावलपिण्डी राइडर्सलाई १ सय ५१ रनको लक्ष्य दिएको छ। लाहोरमा टस हारेर पहिले ब्याटिङको मौका पाएको शार्कले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनायो।
उसका लागि अराफात मिन्हासले शानदार ब्याटिङ गरे। उनले २४ बलमा ३ चौका र २ छक्काको मद्दतमा सर्वाधिक अविजित ४० रनको योगदान दिए। यस्तै, लुक बेनकेनस्टेनले ३३, साद मसूदले २२, शामिल हुसैन, जोसेफ एकल्यान्डले १५–१५ र हसीब नाजिमले नटआउट ११ रन जोडे।
रावलपिण्डीका लागि अफनान खानले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा मात्र २० रन दिँदै ३ विकेट लिए। यस्तै, अमिर हसन र उस्मान खानले १–१ विकेट हात पारे। पहिलो खेलमा कुशलले मौका पाएका छैनन्।
पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो। यस लिगमा विश्वका यू– १९ टिमका खेलाडीले खेल्ने छन् । प्रतियोगितामा कुल १९ खेल हुनेछ । यस लिगको फाइनल खेल २१ अक्टोबरमा रहेको छ।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। कुशलले कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतकको कीर्तिमानसमेत बनाएका थिए। कुशल यसअघि यूएईमा आयोजना हुने टी–१० लिगमा समेत सहभागीता जनाइसकेका छन्।