काठमाडौं।
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजीले रिम्ससँग गोलरहित बराबरी खेलेको हो ।
लियोनल मेस्सीबिना मैदान उत्रिएको पीएसजीले पाएको मौकामा गोल गर्न नसक्दा बराबरी खेलेको हो ।
यस्तै खेलको ४१ औं मिनेटमा सर्जियो रामोसले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो ।
रामोसले करियरमा २८ औं पटक रेड कार्ड पाएका हुन् । यस बराबरीसँगै पीएसजीले १० खेलमा २६ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ । रिम्स ८ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
यसैबीच, युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले युरोकप फुटबलमा सहभागी टिम संख्या बढाउने निर्णय गरेको छ ।
युरोकपमा हाल २४ टोलीले प्रतिस्पर्धा गर्दै आईरहेका छन् । तर, युईएफएले २४ बाट सहभागी संख्या ३२ बनाउने निर्णय गरेको स्काई न्युज डटकमले जनाएको छ ।
युरोकपमा २०१६ सम्म १६ टोलीले खेल्दै आएकोमा बढाएर २४ बनाईएको थियो । २०२४ को युरोकपमा भने २४ टोलीले नै खेल्ने छन् । आगामी संस्करणको युरो जर्मनीमा हुनेछ ।
युरोपमा हाल ५५ राष्ट्र छन् । त्यसैले ३२ राष्ट्र पुगेमा छनोटको ढाँचा परिवर्तन हुने बताईएको छ ।