काठमाडौं।
पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आवद्ध ग्वादार शार्कले आफ्नो दोस्रो खेल आज आइतबार खेल्दैछ। शार्कको दोस्रो खेल हैदराबाद हन्टरसँग नेपाली समयअनुसार दिउँसो २ः१५ मा रहेको छ।
खेल पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा हुनेछ। शार्क लगातार दोस्रो जितको खोजीमा रहेको छ। पहिलो खेलमा शार्कले रावलपिण्डी राइडर्सलाई पराजित गरेको थियो। हैदराबाद भने दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ।
पहिलो जितसँगै शार्क अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो। कुशलले पहिलो म्याचमा मौका पाएका थिएनन्।
उनले दोस्रो खेलमा पनि मौका पाउने सम्भावना कमै छ। शार्कले पहिलो खेलकै प्लेइङ–११ सेटलाई निरन्तरता दिने सम्भावना बलियो छ।किनकि पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेकै कारण उसले अघिल्लो खेलकै प्लेइङ–११ लाई निरन्तरता दिन सक्छ।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। कुशलले कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतकको कीर्तिमानसमेत बनाएका थिए। कुशल यसअघि यूएईमा आयोजना हुने टी–१० लिगमा समेत सहभागीता जनाइसकेका छन्।
सान्त्वना जितको खोजीमा नेपाल
भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आइतबार चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ। फु थोस्थित भियत त्रि स्टेडियममा नेपालले ताइपेको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
ताइपेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ । ताइपे पनि पहिलो जितको योजनामा रहेको छ । समूह ‘एफ’ मा रहेको नेपाल र ताइपे अंकविहीन छन्। दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, अन्तिम खेलमा जित निकाल्दै दुबै टोली सान्त्वना जितसहित घर फर्कन चाहन्छ।
नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो। खेलमा आयोजक भियतनामसँग ५-० गोल अन्तरले पराजित भएको थियो। नेपाल समूहको पुछारमा रहेको छ।
ताइपे तेस्रो स्थानमा रहेको छ। ताइपे पनि भियतनाम र थाइल्याण्डसँग पराजित भएको थियो ।भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन्। यस्तै, उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ।