नेपाल चाइनिज ताइपेसँग पनि पराजित, बनायो खराब कीर्तिमान

काठमाडौं।

भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल जित विहीन बनेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग ४-२ गोल अन्तरले पराजित भएपछि नेपाल जित विहीन बनेको हो । यससँगै नेपालले लगातार तीन म्याच हार्ने खराब कीर्तिमान बनाएको छ।

फु थोस्थित भियत त्रि स्टेडियममा ताइपेलाई जित दिलाउन लिन हाइ चेङले दुई गोल गरे । यस्तै ताई यान याओ र लु यी टिङले एक एक गोल गरे । नेपालका कप्तान प्रशान्त लक्सम र धनसिङ विकले एक एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा लिनले गोल गर्दै ताइपेलाई सुरुआती अग्रता दिलाएका थिए । दशौँ मिनेटमा प्रशान्तले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए । २८ औं मिनेटमा यानले गोल गर्दै टिमको अग्रता २-१ को बनाए ।

खेलको ६१ औं मिनेटमा धनसिंहले गोल गर्दै नेपाललाई २-२ गोलको बराबरीमा ल्याए । ७८ औं मिनेटमा दीपक थापा मगरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

८० औं मिनेटमा लुले गोल गर्दै ताइपेलाई ३-२ को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा लिनले व्यक्तिगत दोस्रो गोल गर्दै ताइपे लाई ४-२ को जित दिलाए ।

खेलमा नेपालका दीपक थापा मगरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड प्राप्त गरे । यस जितसँगै ताइपेले छनोटमा सान्त्वना जित निकालेको छ । ताइपेको यो पहिलो जित हो । समूह ‘एफ’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रह्यो ।

ताइपे ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक भियतनामसँग ५-० गोल अन्तरले पराजित भएको थियो ।

भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भियतनाम र थाइल्याण्डबीचको विजेताले एसियन कपमा स्थान बनाउनेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।

Leave A Reply

Your email address will not be published.